इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ ।
भारतको यो जारी विश्वकपमा पहिलो हार हो । इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरे सोझैं सेमिफाइनल प्रवेश गर्ने छ । ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ६ रन बनायो ।
भारतका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । ३७ ओभरको पहिलो बलमा क्रिस वोक्सले जस बटलरबाट क्याच आउट गराउनु अघि रोहितले १ सय ९ बलमा १ सय २ रन बनाए ।
१ सय ६ बलमा रोहितले आफ्नो वान डे करियरको २५ औं तथा जारी विश्वकपमा आफ्नो तेस्रो शतक पुरा गरे । रोहितले यस अघि पाकिस्तान र दक्षिण अफ्रिकासँगको खेलमा पनि शतक प्रहार गरेका थिए । भारतले तेस्रो ओभरको तेस्रो बलमा ओपनर के एल राहुललाई शुन्यमा गुमाएको थियो । राहुललाई क्रिस वोक्सले आफैं क्याच लिदै पेभिलिएन फर्काए ।
दोस्रो विकेटका लागि रोहित र कप्तान विराट कोहलीले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे । विराटलाई २९ ओभरको दोस्रो बलमा लियाम प्लन्केटले ६६ रनमा क्याच गराए ।
प्लन्केटलेनै ऋषभ पन्तलाई ३२ रनमा क्रिस वोक्सबाट क्याच आउट गराए । पन्तले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै लियाम प्लन्केटले हार्दिक पान्ड्यालाई ४५ ओभरको पाँचौ बलमा जेम्श भिन्सबाट ३३ बलमा ४ चौका सहित ४५ रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्डको जित पक्का बनेको थियो ।
महेन्द्र सिंह धोनीले ३१ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । त्यस्तै केदार जाधव पनि १२ रनमा नट आउट रहे । इंग्ल्यान्डका लागि लियाम प्लन्केटले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । क्रिस वोक्सले १० ओभरमा ३ मेडन सहित ५८ रन खर्चेर २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६