काठमाडौं : आज असार १५ गते धान दिवस । देशभर जताततै धान दिवसको चर्चा अनि परिचर्चा छ । सामाजिक सञ्जालहरुमा त निकै उल्लासकासाथ रोपाइँका तस्विरहरु सार्वजनिक भएका छन् ।
यो समय किसानलाई धान रोप्न भ्याइनभ्याई छ । आजको दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ । आजको दिनमा किसानहरु असारेभाकाहरु गाउँदै-नाँच्दै हिलो खेल्दै र छिल्लिँदै धान रोप्ने गर्दछन् । यी र यस्तै तस्विरहरुले आज सामाजिक सञ्जालमा माहोल तताएको छ ।
तर कतिपय ठाउँ तथा क्षेत्रहरुमा भने रोपाइँ पृथक शैलीमा गरिएको देखियो । वर्षेनी धुलोमाटो र हिलोले पिडित विभिन्न ठाउँहरुका स्थानीयहरुले यो दिवसलाई सडकमा धान रोपेर तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरे । अहिले वर्खायामको समय त्यसैमाथि सरकारले सडक निर्माणको काम समयमै सम्पन्न नगरेका कारण पनि निर्माणाधिन सडकहरु हिलाम्मे छन् ।
ति हिलाम्मे सडकहरु रोपाइँ गर्ने खेत जस्तै भएका छन् । यसको विरोध र सम्वन्धित निकायको ध्यान आकर्षणका लागि विभिन्न ठाउँका स्थानियहरुले सडकमै धान रोपेका छन् ।
कतिपय ठाउँहरुमा मन्त्री,नेताहरु,सरकारी निकायका कर्मचारीहरु,शिक्षक,विद्यार्थी लगायत स्थानियहरुले खेतमै गएर धान रोपेका तस्विरहरु सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६