अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ। उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो।
आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुगेका थिए। ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि आएका थिए। दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाएका थिए।
त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमामा गएका थिए। ट्रम्प उत्तर कोरियाको सीमाभित्र जाने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्। त्यसपछि कोरियाली सीमामा रहेको फ्रिडम हाउसमा दुई नेताबीच ‘एक्लाएक्लै’ भेटवार्ता भएको थियो।
समाचार संस्था एपीका अनुसार भेटमा ट्रम्पकी छोरी इभान्का ट्रम्प र ज्वाइँ जरिड कस्नर पनि थिए। वार्तामा दुबै देशका अधिकारीहरू भने सहभागी थिएनन्। फ्रिडम हाउसमा ट्रम्प र किमबीच झन्डै ५० मिनेट कुराकानी भएको थियो।
यसअघि जी-२० राष्ट्रको को शिखर सम्मेलनका क्रममा जापानको ओसाका पुगेका ट्रम्पले ट्वीटरमार्फत कीमसँग सीमा क्षेत्रमा भेट हुने बताएका थिए। किम प्योङयाङबाट सीमाक्षेत्रमा आए आफूहरूबीच दुई मिनेट कुराकानी हुने ट्रम्पले ट्वीटरमा उल्लेख गरेका थिए।
किमले राष्ट्रपति ट्रम्पको अकस्मातको निम्तोले आफू आश्चार्यमा परेको बताए। आजको भेटवार्ता विगतका तिक्तता बिर्सेर भविष्यका राम्रा कामका लागि आधार हुने किमको विश्वास छ।
ट्रम्पले उत्तर कोरियामा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति भएकोमा आफूलाई गर्व लागेको बताएका छन्।ट्रम्पले आफूहरूबीच फ्रिडम हाउसमा एकदमै राम्रो कुरा भएको उल्लेख गर्दै गत फेब्रुअरीमा भियतनामको हनोईमा भएको वार्तापछि रोकिएको उत्तर कोरियाको अनआणविकीकरण पक्रिया अब फेरि सुचारू हुने विश्वास व्यक्त गरेका छन्। त्यस विषयमा दुई देशका अधिकारीहरूबीच दुई/तीन साताभित्र कुराकानी हुने उनले बताए।
भेटका क्रममा आफूले किमले ह्वाइट हाउस आउन पनि निम्तो दिएको ट्रम्पले जानकारी दिएका छन्। ट्रम्प र किमबीच यसअघि सिंगापुर र हनोईमा दुई पटक शिखर वार्ता भएको थियो।हनोई वार्तामा सम्झौता नभएपनि त्यसले आफूहरूबीचको सम्बन्धलाई मजबुद् बनाएकाले आफूले उक्त वार्तालाई सफल ठानेको ट्रम्पले बताए।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६