काठमाडौं : आईसीसी विश्व टी–२० एशिया फाइनल २०१९ छनौट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ ।
सिंगापुरमा आयोजना हुने एशियाली क्षेत्रको उक्त छनोट प्रतियोगिताको लागि प्रदिप ऐरीेले अन्तिम टोलीमा स्थान बनाएका छन् । त्यस्तै टोलीका नियमित सदस्य आरिफ शेखले भने उक्त सूचीमा अटाएका छैनन् ।
जुलाई २० देखि २८ तारिखसम्म हुने प्रतियोगिताका लागि तयारी स्वरुप नेपालले मलेसियामा दुईवटा मैत्रीपूर्ण टी–२० खेल पनि खेल्नेछ । नेपाली टोली आगामी जुलाई ९ मा मलेसिया लाग्ने र त्यहाँ एक हप्ता अभ्यास गर्ने तालिका रहेको छ । जुलाई १३ र १४ तारिखमा नेपालले दुई वटा खेल खेल्ने यसअघि पक्का भइसकेको छ ।
टोलीमा कप्तानको जिम्मेवारी पारस खड्कालाई नै दिइएको छ । त्यस्तै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र विनोद भण्डारी रहेका छन् ।
त्यस्तै स्टार लेगस्पीनर सन्दीप लामिछानेका साथ ग्लोबल टी–क्यानडाको लागि छनौट भएका पेशर सोमपाल कामी पनि टोलीमा छन् । युवा खेलाडीहरु करन केसी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी, पवन शर्राफ र अभिनाश बोहोरा पनि टोलीमा रहेका छन् ।
त्यस्तै टी–२० मा कुशल मानिएका प्रदिप ऐरी पनि टोलीमा छानिएका छन् । कुशल भुर्तेल, जितेन्द्र मुखीया, आरिफ शेख र सुसन भारी भने वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।
आईसीसीका प्रतिनिधी अमिनुल इस्लामको अध्यक्षता रहेको छनौट समितिले यस टोलीको अन्तिम छनौट गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले बताएका छन् । उक्त समितिमा मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का पनि सदस्य रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६