विश्वकप क्रिकेटको ३७ औं प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६रनले हराएको छ । अष्ट्रेलियाको यो सातौं जित हो । ऊ १४ अंकको साथ तालिकको शीर्ष स्थानमा कायम छ ।
शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३.४ ओभरमा १५७ रनमा अलआउट भयो ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ४० र रस टेलरले ३० रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डले १० ओभरको दोस्रो बलमा हेनरी निकोलसलाई ८ रनमा गुमाएको थियो । बेहरनडर्फलेनै १४ ओभरको पहिलो बलमा अर्का ओपनर मार्टिन गुप्टिललाई २० रनमा एलवी डब्लू आउट गरे ।
२५ ओभरको चौथो बलमा मि चेल स्टार्कले कप्तान केन विलियमसनलाई केरिबाट ५१ बलमा क्याच आउट गराए । ३२ ओभरको चौथो बलमा प्याट कमिन्सले रस टेलरलाई केरिबाटै क्याच आउट गराएपछि न्युजिल्यान्डको जित टाढिएको थियो ।
टम लेथम १४,कोलिन डी ग्राण्डहोम डक,जेम्श निशम ९,मिचेल सान्टनार १२,इश सोधी ५,लोकी फर्गुसन डक आउट भए । अष्ट्रेलियालाई सहज जित दिलाउन मिचेल स्टार्कले ९.४ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जेसन बेहरनडर्फले २,प्याट कमिन्स,नाथन लायन र स्टिभ स्मिथले पनि समान १ विकेट हात पारे ।
त्यसअघि लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक लिएका थिए । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ८८ रनको योगदान दिए ।
त्यस्तै विकेटकीपर एलेक्स केरिले ७२ बलमा ११ चौका सहित ७१ रनको योगदान दिए । अष्ट्रेलियाले पाँचौ ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्चलाई ८ रनमा गुमाएको थियो । फिन्चलाई बोल्टले एलबी डब्लू आउट गरे । दशौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले टम लेथमबाट क्याच आउट गराउँदै अर्का ओपनर डेविड वार्नरलाई १६ रनमा पेभिलिएन फर्काए ।
फर्गुसनलेनै १२ ओभरको दोस्रो बलमा स्टिभ स्मिथलाई ५ रनमा क्याच आउटकाे शिकार भए । जेम्श निशमले मार्कस स्टोइनिसलाई २१ र ग्लेन म्याक्सवेललाई १ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । प्याट कमिन्स २३ रनमा अविजित रहे ।
बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजालाई बोल्ड आउट गरे । लगत्तै चौथो बलमा मिचेल स्टार्कलाई पनि बोल्ड आउट गरे । पाँचौ बलमा जेसन बेहरनडर्फलाई एलवी डब्लू आउट गर्दै बोल्टले ह्याट्रिक पुरा गरेका थिए ।
ह्याट्रिक लिएका बोल्टले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसन र जेम्श निशमको नाममा समान २ विकेट रह्यो । त्यस्तै कप्तान केन विलियमसनले १ विकेट लिए ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६