पाकिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।
शनिबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान चौथो स्थानमा उक्लिएको हो । अफगानिस्ताको भने यो लगातार आठौं हार हो । अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।
शनिबार २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २ बल अगाडि ७ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानका लागि तल्लोक्रमका इमाद वासिम ५४ बलमा ५ चौका सहित ४९ रनमा अविजित रहँदै पाकिस्तानको जित पक्का गरे । वहाब रियाज ९ बलमा समान १ चौका र छक्का सहित १५ रनमा अविजित रहे । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा इमाद वासिमले चौथो बलमा चौका प्रहार गर्दै पाकिस्तानको जित पक्का गरे ।
युवा ब्याट्सम्यान बाबर आजमले ४५ रनको योगदान दिए । १८ ओभरको दोस्रो बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि बाबरले ५१ बलमा ५ चौका प्रहार गरे । पाकिस्तानले पहिलो ओभरको दोस्रो बलमै ओपनर फकार जमानलाई शुन्यमा गुमाएको थियो । जमानलाई मुजिव उर रहमानले एलवी डब्लू आउट गरे । दोस्रो विकेटका लागि बाबर र इमाम उल हकले ७२ रनको साझेदारी गर्दै इनिङ उकासे ।
१६ औं ओभरको अन्तिम बलमा मोहम्मद नाबीले इमाम हकलाई ३६ स्टम्पिङ आउट गराउदै साझेदारी तोडेका थिए । मुजिवले ३० ओभरको पहिलो बलमा मोहम्मद हफिजलाई १९ रनमा क्याच आउट गराएपछि पाकिस्तान दबाबमा परेको थियो । ३९ ओभरको अन्तिम बलमा कप्तान शरफराज अहमद १८ रनमा रन आउटभएपछि पाकिस्तानले संघर्ष गर्नु परेको थियो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व कप्तान अस्गर अफगानले समान ४२ रनको योगदान दिए ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६