कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन् । रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भँैसीमा अनुसन्धान थालिएको हो ।
वैज्ञानिकहरुले चैत, वैशाख, जेठ र असार महीनामा कमै सङ्ख्यामा भैँसी ब्याउने भएकाले ती समयमा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ ।
विश्वविद्यालयमा यस विषयमा अनुसन्धान गरिरहनुभएका प्राडा भूमिनन्दन देवकोटाका अनुसार माडीका २० जना कृषकका २५ वटा भैँसीमा बेमौसममा गर्भाधान गराइएको छ । भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरेका नौ वटा भैँसीमा पनि गर्भाधानको प्रक्रिया अघि बढाइएको छ । ती भैँसीको पाठेघरको मुखमा छुने गरेर प्रोजेस्टेरोन नामको हर्मन राखिएको छ ।
ती भैँसीलाई आउँदो सोमबार कृतिम गर्भाधान गराइने प्राडा देवकोटाले जानकारी दिए । विश्वविद्यालयको पशु प्रजनन प्रविधि विभागले विश्वविद्यालय हाताभित्र अघिल्लो वर्ष १३ वटा भैँसीमा बेमौसममा गर्भाधान गराएकामा पाँचवटा भँैसी ब्याएका थिए ।
गतवर्ष विश्वविद्यालयभित्र ११ वटा भैँसीमा गर्भाधान गराइएकामा सात वटा ब्यायको देवकोटाले जानकारी दिए । मुख्य अनुसन्धानकर्ता देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो ।
भैँसीका प्रजनन अङ्ग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्माेन तयार गरी भैँसीलाई खुवाउदा सुख्खा मौसममा भैँसी प्रजननमा सहज भएको जानकारी दिँदै उनले उक्त मौसममा नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण भैँसीमा तनाव हुने र वातावरणीय तापक्रमका कारण पनि भैँसीमा तनाव बढ्ने गरेको देखिएको उल्लेख गरे ।
हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको सङ्क्रमण बढी भएको पाइएकाले पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्माेन प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजनन योग्य बनाउन सकिएको अध्ययनले देखिएको अनुसन्धानकर्ता डा देवकोटाकाको भनाइ छ ।
साउनदेखि मङ्सिरसम्म भैँसीको प्रजननको हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ । पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवं गर्भधारणका लागि अनुपयुक्त मानिन्छ । कुनै मौसममा दूध बढी भएर मिल्क होलिडे हुन्छ भने कुनै समयमा नेपालमा दूधको अभाव हुने गर्दछ ।
अनुसन्धानले नेपालमा भँैसीको उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हिस्सा कृषिले ओगटेकामा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको छ भने भैँसीको मात्र योगदान छ प्रतिशत छ ।
नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मुर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्याङ्क छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने जनाए पनि नेपालमा ७२ लिटर मात्रै उपभोग हुँदै आएको छ । देवकोटाले निजी क्षेत्रका भँैसीमा बेमौसममा गर्भाधान गराउने प्रविधिलाई व्यापकता दिन सकेमा सबै मौसममा दूध उत्पादन गर्न सकिने बताए ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६