मनसुन सुरु भएसँगै पश्चिम नेपालमा पहिरोको जोखिम बढेको पाइएको छ । विकास निर्माणका नाममा गाउँगाउँ भित्रिएका डोजरले जथाभावी सडक खन्दा पश्चिम नेपाल पहिरोको जोखिममा परेको हो ।
वातावरणीय मूल्यांकन बिना नै स्थानीय तहले विकास निर्माणका लागि भन्दै जथाभावी खनेको सडक नै पहिरोको मुख्य कारकका रूपमा देखिएको भूगर्भविद्हरूले बताएका छन् ।
‘नेपालको पश्चिमी क्षेत्रमा यस वर्ष मनसुनी वर्षा बढी हुने भएकाले सो क्षेत्रमा पहिरोको जोखिम बढी हुन सक्छ,’ पहिरोको अध्ययन अनुसन्धान गरिरहेका जल तथा मौसम विज्ञान विभागका पहिरोविद् विनोद पराजुलीले भने, ‘वातावरणीय प्रभावबिना नै जथाभावी रूपमा निर्माण गरिएका सडकका कारण बाढी र पहिरोको प्रकोप बढिरहेको पाइएको छ ।’
मनसुनी वर्षा औसतभन्दा बढी हुने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोको जोखिम पनि बढी भएको उनले बताए । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहले सडक निर्माणको कामलाई प्राथमिकतामा राखेका छन् ।
प्राथमिकतामा राखिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनबिना नै सडक निर्माण हुँदै आएका छन् । विशेषगरी स्थानीय तहले निर्माण गरेको सडक वातावरणीय प्रभाव मूल्यांकनबिना नै गरिएकाले पहिरोको जोखिम अत्याधिक पाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६