दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको जित निकालेको छ ।
२ सय ४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो ।
अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा ९६ रनमा अविजित रहदै टोलीको जित पक्का गरे ।
त्यस्तै ओपनर हासिम अमला पनि १ सय ५ बलमा ८० रनमा अविजित रहे । दोस्रो विकेटका लागि अमला र डु प्लेसिसले १ सय ७५ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि अफ्रिकाले सहज जित हात पारेको हो ।
दक्षिण अफ्रिकाले पाँचौ ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई १५ रनमा गुमाएको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । दोस्रो विकेटका लागि अविष्का फर्नान्डो र कुशल परेराले ६७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।
तर दशौं ओभरको पाँचौ बलमा ड्वाइन पिटोरियसले कप्तान डु प्लेसिसबाटनै क्याच गराउँदै फ्रर्नान्डोलाई ३० रनमा आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । उनले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै १२ ओभरको तेस्रो बलमा प्रिटोरियसले परेरालाई ३० रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।
कुशल मेन्डिस २३,एन्जिलो मथ्युज ११ र धनञ्जय डी शिल्भा २४ रनमा आउट भएपछि श्रीलंका संकटमा परेको थियो । तल्लोक्रमका तिसेरा परेराले २५ बलमा २१,इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल ५ र लाथिस मलिंगाले ४ रनको योगदान दिए ।
दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियसले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस मोरिस ३ र कागिसो रबाडाले २ विकेट हात पारे । एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीको नाममा पनि समान १ विकेट रह्यो ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६