विराटनगर: करिब ३ वर्षकी नाबालिकालाई यौन दुर्व्यवहार गर्ने एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । बुधवार नातामा काका पर्ने ती युवकले २ वर्ष ६ महिनाको भतिजीलाई यौनजन्य क्रियाकलाप गरेकै अवस्थामा फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर १ पोखरिया घर भएका २३ वर्षिय ती युवकले बुधवार दिउँसो ११ बजे नाबालिकामाथि यौनजन्य क्रियाकलाप गरेका थिए । नजिकको नातामा पर्ने भएकाले सधै सो घरमा आउजाउ गर्ने ती युवकमाथि कसैले शंङ्काको दृष्टिकोणले हेरेको थिएन । तर बुधवार भने आँगनमा बालिकामाथि त्यस प्रकारको क्रियाकलाप गरेको आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले ती युवकलाई घटना भएको दुई घण्टा पश्चात विराटनगरबाटै नियन्त्रणमा लिएको थियो । ‘बालिकाको योनी लगायतका संवेदशिल अंग चलाउने, सुम्सुम्याउने जस्ता कार्य गरिरहेको उनको आमाले देखेपछि प्रहरीलाई जानकारी गराइयो ।’ मोरङ प्रहरीका प्रवक्ता एंव डिएसपी घनश्याम श्रेष्ठले आजको न्युजलाई भने,‘युवकले प्रहरीलाई खबर गरेको थाहा पाएपछि भाग्ने क्रममा हामीले पक्राउ गर्यौ ।’ पीडक र पीडित नातेदार भएका कारण आरोपित युवकको नाम भने प्रहरीले खुलाएको छैन । डिएसपी श्रेष्ठले पीडितको पहिचान खुल्न सक्ने भएकाले पीडिकको नाम पनि गोप्य राखिएको जानकारी दिए ।
प्रहरले अभियुक्तलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ को बाल यौन दुरूपयोग कसुर अन्तर्गत मुद्धा दायर गरेको छ । जिल्ला अदालत मोरङले म्याद थप गरि थप अनुसन्धान गर्न आदेश समेत दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६