काठमाडौं : आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटअघि नेपालले मलेसियासँग २ खेलको टी-२० सिरिज खेल्ने भएको छ। विश्वकप छनोटको तयारीका लागि नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने मलेसियन क्रिकेट संघले जनाएको छ।
पहिलो खेल असार २८ गते शनिबार हुनेछ। दोस्रो खेलमा असार २९ मा खेल्नेछ। दुवै खेल मलेसियाको किनरारा ओभलमा स्थानिय समयअनुसार १० बजे हुनेछ। सिरिजपछि नेपाली टिम सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ।
त्यसअघि नेपाली टिम टी-२० विश्वकप छनोटको अन्तिम तयारी मलेसियामा गर्ने छ। नेपालले गत सातादेखि कीर्तिपुरस्थिति टियु मैदानमा हुने पहिलो चरणको तयारी गरिरहेको छ। पहिलो चरणको तयारी २५ जना खेलाडी सहभागी छन्। यी खेलाडीबाट वैदेशिक प्रशिक्षणमा जाने १४ सदस्यीय अन्तिम टिम शनिबार घोषणा हुँदैछ।
आगामी साउन ६ देखि १२ गते सम्म हुने छनोटमा नेपालसहित ५ टिमको सहभागिता हुनेछ। नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ। विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ।
आगामी अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म हुने आइसिसी टी–२० विश्वकप ग्लोवल छनोट प्रतियोगितामा १४ टिमको सहभागिता हुने छ। प्रतियोगितामा आयोजक युएईसँगै १० टिमको सहभागिता पक्का भइसकेको छ।
गत संस्करणको विश्वकप खेलेका स्कटल्यान्ड, जिम्बावे, नेदरल्यन्ड्स, हङकङ, ओमान र आयरल्यान्ड वरीयतामा शीर्ष १० मा पर्न नसकेपछि टी–२० विश्वकप छनोटमा धकेलिएका थिए।
पपुवा न्युगिनीले पूर्वी एसिया प्यासेफिक क्षेत्रीय छनोट पार गरेर छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेको छ। अफ्रिकाबाट केन्या र नामिबिया विश्व छनोटमा पुगेका छन्। अब अमेरिकाबाट २ टिम छनोट हुँदैछन् भने एसिया र युरोप छनोटबाट १–१ टिमले स्थान पाउनेछन्।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६