काठमाडौं : काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी आज टेकुमा सार्वजनिक गरेको हो।
सिसिटिभीमा देखिएको शंकास्पद मोटरसाइकलका आधारमा कार्की पक्राउ परेका हुन्। मोटरसाइकल भाटभटेनीअगाडि फेला परेपछि प्रहरीले मोटरसाइकल कुरेर बसेको थियो। सोही बेला मोटरसाइकल लिन आउँदा उनलाई पक्राउ गरिएको हो।
कार्कीका पत्नीसहित १० वर्षका र १७ महिनाका २ छोरा छन्। महाराजगन्जमा रहेको आफ्नो रेस्टुरेन्ट बन्द गरेर घर जाने बेलामा बाटोमा भेटिएका युवतीलाई उनले तिखो वस्तु प्रहार गर्ने गरेको प्रहरीको भनाइ छ।
एसएसपी उत्तमराज सुवेदीले सर्वसाधारणको जनस्वास्थ्यमा आतंकित गर्ने काम गरेकाले सोही अनुसार मुद्दा चलाएर अनुसन्धान गर्ने बताए।
पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्। उनले बयानमा किला रोपेको बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले नेपाल लाइभलाई जानकारी दिए।
रामेछाप घर भएका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएको पाइएको छ। उनलाई महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६