काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विदेशी च्यानल विज्ञापनरहित नीति अर्थात् ‘क्लिनफिड’ नेपाली विज्ञापन तथा सञ्चार उद्यमको हितमा भएकाले लागू भएरै छाड्ने बताएका छन् ।
मन्त्री बाँस्कोटाले ‘क्लिनफिड’ को माग नेपाली मिडिया उद्योग, पत्रकारिता र व्यवसायीबाटै भएको चर्चा गर्दै यसले विज्ञापन बजारमा प्रतिस्पर्धी क्षमताको विकासका साथै रोजगारी सिर्जना, मौलिकता र आर्थिक हितको संरक्षण गर्ने बताए । उनले नेपाली मिडियाको समृद्धिमा समेत ‘क्लिनफिड’ नीतिले सहयोग पुग्ने छ भने ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले यस्तो धारणा व्यक्त गरे । असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै उनले विप्लव समूहले लिएको हत्या र हिंसाको बाटो नै गलत रहेको चर्चा गर्दै शान्ति, स्थिरता, समृद्धि र विकासलाई चुनौती दिनेगरी राजनीतिक लडाइँ लड्नुपर्ने अवस्था अहिले नरहेको स्पष्ट पारे ।
उनले जनताको सुरक्षा सरकारको कर्तव्य भएको भन्दै विप्लव समूहको गतिविधि प्रतिक्रान्तिकारी, फाँसीवादी र आपराधिक देखिएको बताए । नेपालको विज्ञापन बजार व्यवस्थित गर्न सरकारले संसद्मा प्रस्तुत गरेको ‘विज्ञापन ऐन, २०७६’ मा टेलिभिजनमार्फत प्रसारित हुने विदेशी च्यानलहरू ‘क्लिनफिड’ अर्थात् विज्ञापनबिना हुनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्नेछ’ भनिएको छ । उक्त दफाको उपदफा २ मा विदेशी विज्ञापन नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ । यस व्यवस्थाले विदेशी बहुराष्ट्रिय कम्पनीले नेपालमै विज्ञापन बनाउनुपर्ने अवस्था आउँछ । जसले गर्दा नेपालको विज्ञापन बजार बढ्नुका साथै कलाकार र प्राविधिकसम्मको रोजगारीमा वृद्धिसमेत हुने विज्ञापन व्यवसायीहरू बताउँछन् ।
अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७३ साउन ६ मा मन्त्रिपरिषद्ले २०७४ साउन १ देखि ‘क्लिनफिड’ लागू गर्ने निर्णय गर्दै ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ स्वीकृत गरेको थियो । विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने नीति लागू गर्ने निर्णय गरे पनि त्यसपछिको सरकारले यसलाई कार्यान्वयनमा लगेको थिएन । आजकाे गोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६