काठमाडौं: प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ ।
मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८७.६४ प्रतिशत छ । गत वर्षको तुलनामा यो १० प्रतिशतले बढी हो । अघिल्लो वर्ष ७७ प्रतिशत थियो ।
दुई वर्षअघि उक्त जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८२.३८ प्रतिशत र चार वर्षअघि ८४.३३ प्रतिशत थियो । गत वर्ष खस्केको प्रतिशत यस वर्ष केही बढेको देखिए पनि मध्यमस्तरको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी छ । अनिवार्य गणितबाहेकका सबै विषयमा २५ पूर्णांकको प्रयोगात्मक नम्बरको व्यवस्था भएका कारण पनि नतिजामा केही सुधार देखिएको हो ।
४ लाख ५९ हजार २ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा मध्यमस्तरका १.६ देखि २.८ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै छ । २ लाख ७० हजार अर्थात् ५९ प्रतिशतभन्दा बढी विद्यार्थीले मध्यमस्तरको जीपीए ल्याएका छन् ।
‘स्थानीय तहहरूले विद्यालय अनुगमन र नियमन गर्न थालेपछि नतिजा सुधार हुनुपर्ने हो,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीले प्राप्त गर्ने ग्रेड खासै बढ्न सकेको छैन ।’ उच्च तहको जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्दै गए मात्र नतिजा सुधार भएको मान्न सकिने उनले जनाए । आजकाे कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६