विराटनगर: समान लिङ्ग भएका समलिङ्गीको विवाहको चर्चा विरलै हुने गर्छ । निक्कै कम मात्रामा यस प्रकारको घटना हाम्रो समाजमा सुन्न पाईन्छ । समलिङ्गीहरूले आफ्नै निर्णयको भरमा सँगै जिउँने र सँगै मर्ने कमस खाएर वैवाहिक जीवन बाँध्ने गर्छन । कतिको परिवारले यस प्रकारको विवाहलाई सहजै स्वीकारे पनि कतिले अझै मानेका छैनन् । यस्तै प्रकारको घटना झापामा भएको छ ।
झापा अर्जुनधारा नगरपालिका–१० का २० वर्षीय रुपक गिरी र काठमाडौंका १८ वर्षीय अनुभव दर्जी करिब दुई वर्ष अघि सँगै जिउँने, सँगै मर्ने कसम खाँदै बैवाहिक जीवनमा बाँधिए । सामाजिक सञ्जाल फेसबुक मार्फत दुई वर्ष अघि नै भएको चिनजानबाट उनीहरू सोही माध्यमबाट धेरै नजिकिए । साथी बन्दै शुरु भएको उनीहरूको प्रेम प्रसङ्ग यति रोचक छ, कि उनीहरूले एक अर्कालाई भेट्दै नभेटि प्रेममा बाँधिएका थिए ।
उमेरले केही जेठा रुपकले फेसबुक मार्फत नै अनुभवलाई प्रेम प्रस्ताव राखेका थिए । फेसबुक मार्फत कहिले भिडियो कल त कहिले फोन सम्पर्कबाट नजिकिएका गिरी र दर्जी आफु समान लिङ्ग भएको राम्रोसँग थाहा थियो । उनीहरू बीच बढ्दै गएको आत्मियताका कारण अनुभव २०७४ साल मंसिरमा रुपकलाई भेट्न झापा आए । त्यसपछि उनीहरूले एक अर्कालाई छोड्न नसक्ने अवस्थामा पुगे । त्यसपछि उनीहरूले विवाह गर्ने निर्णय गरे ।
विगतलाई सम्झदै अनुभवले आफ्नो भावना मिलेका कारण विवाह गरेको बताए । उनले भने,‘तर घरपरिवारबाट स्वीकार हाम्रो विहेलाई स्वीकार गर्नु भएन, निकै दुःख लागेको छ ।’ रुपकको परिवारले उनीहरूको सम्बन्धलाई स्वीकार गरेपनि अनुभवको परिवारले अहिलेसम्म स्वीकार गरेको छैन । अनुभभवले थपे,‘विहे भएदेखि म घर गएको छैन ।’
यता रुपकको भनाई भने बेग्लै छ । ‘परिवारको साथ र सहयोगकै कारण आज अनुभवलाई खुशीको साथ राख्न सफल भएको छु’ रुपकको भनाई थियो, ‘हामी वैवाहिक जीवनबाट निकै खुशी छौं ।’ दुबै अहिले झापाको दमकमा घर भाडा लिएर बसेका छन् । तर समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण भने फरक छ । अझै समाजले उनीहरूलाई हेलाको दृष्टिले हेरेको दुबैको भनाई छ ।
उनीहरूमध्ये रुपक पति हुन । अनुभवको जिम्मेवारी पत्नीको छ । दुबै यौन जीवनबाट खुशी छन् । उनीहरू भन्छन्,‘हामी यौन जीवनबाट सन्तुष्ट छौं ।’ ‘पुरुष र महिलाको यौन जीवन जस्तो नहोला तर, हामी जे छौं त्यसमा पूर्ण सन्तुष्ट छौ । आफुहरूमा समेत सन्तानको रहर बताउँने उनीहरूमा धर्मपुत्र राख्ने इच्छा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६