काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरूलाई नि:शुल्क साइकल प्रदान गरेका छन्।
बिहीबार जनकपुरधामस्थित श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत एक सय १४ जना छात्रालाई मुख्यमन्त्री राउतलगायतले साइकल प्रदान गरेका हुन्।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा/टाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत शिक्षा बीमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपंक्तिमा राख्ने सोच लिएको बताए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महिला शिक्षाबिना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेरै प्रदेश सरकारले एकपछि अर्को कार्यक्रम ल्याउन लागेको बताए।
उनले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभइ सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए।
त्यसैगरी, सामाजिक विकास मन्त्री नवल किशोर साहले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको उल्लेख गरे।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश नं. २ भित्रका सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६