विराटनगर : पूर्वको मुख्य नाका विराटनगर रानीस्थित विराटनगर भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । विगत ३ दिनदेखि सीमावर्ती भारतीय बजार जोगबनीका नागरिक अगुवा र युवाहरूले बजार बन्द गरेपछि त्यसको असर नेपाललाई समेत परेको छ । जोगबनीको जीर्ण सडकको मर्मतको माग गर्दै मङ्गलबारदेखि जोगबनीमा धर्ना कार्यक्रम जारी रहेको छ ।
सीमावर्ती बजार बन्दका कारण विराटनगर भन्सार कार्यालयले प्रत्येक दिन असुली गर्दै आएको राजश्वमा प्रभाव परेको छ । कार्यालयले दैनिक १४ करोडको हाराहारीमा राजस्व असुली गर्छ । सो कार्यालयका अनुसार मङ्गलबार १४ र बुधबार ७ करोड राजश्व असुली भएको छ । बन्दका कारण विहिबार पनि राजश्व असुलीमा कमि आएको छ ।
जोगवनी नगर पञ्चायतले सडक निर्माणको कामलाई बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन । जोगवनीको सडक अबस्था निक्कै जीर्ण छ । साघुँरो सडक तथा बर्षायाममा पानी जमेर आवतजावतमा नै समस्या पर्दै आएको छ । आन्दोलनकारी र फारविसगञ्ज अनुमण्डल पदाधिकारीबीच भएको वार्तामा ७ दिन भित्र सबै माग पूरा गर्ने सहमति भएपनि बिद्युतको बिषयमा सहमति हुन नसक्दा जोगबनी बजार अझै ठप्प रहेको छ ।
आन्दोलनकारीले हजारौको संख्यामा दैनिक जोगवनी बजार जाने नेपाली उपभोक्तालाई बजार नखुलेसम्म नजान आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६