अमेरिकाको एक अदालतले एक अमेरिकी पितालाई आफूले धर्म छोरीका रुपमा पालेकी तीन वर्षिया भारतीय बालिकाको हत्याको आरोपमा दोषी देखिएपछि आजीवन कारावासको सजाय सुनाएको छ । अमेरिकी मिडियाले जनाएअनुसार वेज्ली माथ्यु नामका ती अमेरिकीलाई सो सजाय सुनाइएको हो ।
शेरिन म्याथ्यु नामकी ती बालिका सन् २०१७को अक्टोबरमा टेक्सासस्थित आफ्नो घरबाट हराएकी थिइन् । दूध नखाएकोले आफूले सजाय दिनका लागि बाहिर राखेका कारण उनी बेपत्ता भएको माथ्युले दाबी गरेका थिए । दुई सातापछि ती बालिकाको शव नालीमा फेला परेको थियो ।
अनुसन्धानका क्रममा उनले सो घटनाको विवरण पटक पटक फेरेको बताइएको छ । शेरिनको दूध खानेबेलामा मृत्यु भएको समेत जनाएका थिए । उनलाई सन् २०१६मा भारतबाट अमेरिका लगिएको थियो । उनकी पत्नी सिनि माथेउलाई पनि बच्चालाई परित्याग गरेको अभियोग लगाइएकोमा प्रमाण नपुगेको भन्दै उनी विरुद्धको मुद्दा भने अदालतले यो वर्षको शुरुमै खारेज गरेको थियो ।
भारत सरकारले यसअघि नै हल्ट इन्टरनेसनल नामको एडप्सन एजेन्सीलाई शेरिनको प्रकरणमा लापरवाही गरेको आरोपमा निलम्बन गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६