काठमाडौं: संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ । प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औं सेसनमा छलफल हुने भएको छ ।
प्रस्ताव पारित भए काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरूको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्त्व विभाग स्रोतले व्यक्त गरेको छ । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।
युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बीचबाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने
प्रस्ताव गरेको हो ।
युनेस्कोले सरकारलाई उपत्यकाका सम्पदा खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । तीन वर्षअघिसमेत यस्तो प्रस्ताव सेसनमा राखेकोमा अस्वीकृत भएको थियो ।
काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदामा सूचीकृत छन् । युनेस्कोले ती सम्पदामाथि भने कुनै प्रश्न उठाएको छैन । आजकाे कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६