काठमाडौं: स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगद्वारा सार्वजनिक विज्ञापनमाथिको रिट निवेदनबारे आगामी आइतबार सुनुवाई हुने भएको छ । सुनुवाई मिति बुधबारका लागि तोकिए पनि संसद्् सचिवालयमा ‘कारण देखाऊ र अन्तरिम आदेश’बारे छलफल सूचना नपुगेपछि थप तीन दिन स्थगित भएको हो ।
लोकसेवा आयोगको विज्ञापनसँग सम्बन्धित चार निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाई तोकिएको थियो ।
न्याधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा बुधबार सुनुवाई गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभा राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि गत ८ असारदेखि सुनुवाई सुरु गरिएकामा न्यायाधीशद्वय कार्की र भट्टराईकोे संयुक्त इजलासले बहस नसकिएकाले बुधबारका लागि ‘हेर्दाहेर्दै’ सूचीमा राखेको थियो ।
आयोगको पक्ष–विपक्षीमा सर्वोच्चमा चार रिट परेका थिए । विज्ञापन विषयमा ‘समावेशी नभएको’ भन्दै अधिवक्ता जगदेव चौधरीले गत २७ जेठमा रिट दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाई भइसकेको छ । आजकाे राजधानीमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६