एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । यो जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ ।
२ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानलाई सहज जित दिलाउन बाबर आजमले शतक प्रहार गरे । बाबर १ सय २७ बलमा ११ चौका सहित १ सय १ रनमा अविजित रहे ।
त्यस्तै मध्यक्रमका ह्यारिस सोहेलले ७६ बलमा ६८ रनको महत्वपूर्ण योगदान दिए । कप्तान शर्फराज अहमद ५ रनमा नट आउट रहे ।
पाकिस्तानले तेस्रो ओभरको अन्तिम बलमा फकार जमानलाई ९ रनमा गुमाएको थियो । त्यस्तै ११ ओभरको दोस्रो बलमा ल्योकी फग्र्युसनले गुप्टिलबाट क्याच गराउँदै इमाम उल हकलाई १९ रनमा पेभिलिएन फर्काए ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन,टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट हात पारे । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । बाबर आजम
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६