सोलुखुम्बु: सामाजिक सञ्जालको दुरुपयोग कसैको चरित्र हत्या गरिएको, कसैको सम्पत्ति सकिएको, कसैको सम्बन्ध चिसिएको समाचार समय समयमा चर्चामा आउने गर्छन् । तर सोलुखुम्बुका एक युवा भने सामाजिक सञ्जालको सदुपयोगबाट राम्रो आम्दानी गरिरहेका छन् ।
सोलुखुम्बुको माप्य दुधकोशी गासउँपालिका २ ठूलोढुंगाका रुद्र राईले जिल्लाको सदरमुकामा सल्लेरीमा रक आर्टबाट राम्रो आम्दानी गर्न थालेका हुन् । उनले फेसबुकमा ढुंगामा बनाइएका विभिन्न प्रकारका कलात्मक आर्टहरू देखेपछि थप बुझ्न उनलाई समय नै लागेन। उनले थप जान्न सामाजिक सञ्जाल कै प्रयोग गरेर जनाको बताए । अनि उनले त्यस्तै प्रकारका सजावट खोप्न प्रयास गरे । पटक पटकको प्रयास र निरन्तरताको कारण उनी राम्रो बनाउ सक्ने भएका छन् भने उनले बनाएको ढुङ्गाका सजावट सामाग्रीहरू बिक्री पनि हुन थालेको उनले बताए ।
अहिले रुद्र ढुंगाबाट विभिन्न सजावटका सामाग्री बनाउनमा व्यस्त छन । कुनै तालिम पनि लिनुपरेन, उनी भन्छन, ‘देखेको भरमा आफुले पनि त्यस्तै बनाउँदै गए । पहिलो पल्ट दुइ दिन समय लगाएर बिरालोकोे आर्ट गरेका थिए । त्यो नै राम्रो बनेपछि थप जाँगर चल्न थाल्यो । अहिले निरन्तर रुपमा काम गर्दैछु ।’
उनले भने,‘भगवानले सबैलाई एउटा एउटा कुरा दिएको हुन्छ रे सायद मलाइ यहि सीप दिएको होला ।’ आज यही सीप र कलाले गर्दा सहज भइरहेको छ ।
२३ वर्षिय रुद्र राई कक्षा १२ मा अध्ययनरत छन । सानैदेखि आर्टमा रुचि भएपनि उनले कृषि प्राविधिक विषय लिएर कक्षा १० सम्म पढे । एसइइ दिए पस्चात उनले तरकारीको फार्म पनि एक वर्षसम्म सञ्चालन गरे तर सानैदेखिको कला क्षेत्रमा भएको शौखले कृषि फार्मलाई विस्थापित गरिदियो । यो पेसा रोजेर आफुलाई राम्रै आम्दानी मिलिरहेको उनी बताउछन् । निरन्तर खट्दा मासिक ७० हजारसम्म कमाई हुने उनले बताए ।
सल्लेरीबाट नजिकै रहेको सोलुखोलाबाट ढुंगाहरु संकलन गरी विभिन्न किसीमका आर्टहरु गरेर विभिन्न बिरालो, पुतली, फूल, चरा लगायतका बस्तुको आकृति उतार्छन । उनले भने,‘सिक्दैछु, भर्खरै स्वयम्भूनाथको आकृति बनाउन सफल भए, अरु नयाँ नयाँ कुराहरु सिक्न बाँकी नै छ ।’
हेर्दा दुरुस्त देखिने ति वस्तुहरु विभिन्न रंगहरु प्रयोग गरि खेर गएका ढुंगाबाट निमार्ण गरिएको हो । उनले विभिन्न किसीमका जनावर, पशुपंक्षी र ढुंगाको आकारमा मिल्ने किसीमले विभिन्न ठाउँहरुको पनि पेन्टिङ तथा आर्ट गर्न सकिने बताउँछन ।
अहिले सोलुखुम्बु जिल्लामा मात्र व्यापार सिमित भइरहेको राई बताउछन । ती वस्तुहरु निर्माण गर्दा जति मेहनत लागेको छ, मेहनतको आधारमा बिक्रि वितरण गरिरहेको उनी बताउँछन । साधारण किसीमले बनाइएको पुतलीलाई ३०० र बिरालोको आकृतिलाई चार हजार पाँचसय सम्म लिने गरेको राई बताउछन ।
प्रायः शौखिनहरुले मात्र कोठा सजाउनका लागि किन्ने गरेको उनी बताउँछन । राम्रोसँग मेहनत गरेर बनाउदा एक ओटा बिरालोको आकृति दुई दिनमा सकिन्छ । यसरी खेर गईरहेको ढुंगालाई संकलन गरि विभिन्न किसीमका सजावटका सामाग्रीहरु बनाएर आर्थिक क्षेत्रमा पनि अब्बल बन्न सकिने उनको बुझाई छ ।
केही समयपछि विभिन्न किसीमका आर्ट बनाएर व्यापारको विस्तार गर्दै लैजाने उनको लक्ष्य रहेको छ । साथै आर्टको कोर्स लिएर अझ आफूमा भएको सीपलाई निखार्दै यस पेसालाई व्यवसायिक बनाई देश विदेशसम्म बिक्री गर्ने राईको उद्देश्य छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६