काठमाडौं : भोजपुरमा एक जना सुस्त मनस्थिति भएकी महिलालाई गर्भवती बनाएर असी हजार रुपैयाँमा अर्को युवकलाई जिम्मा लगाइएकाे घटना सार्वजनिक भएकाे छ । ८ महिनाको गर्भ बोकेर ती महिला र उनका परिवार न्यायका लागि सदरमुकाममा आइपुगेका छन् ।
यो घटना भोजपुर नगरपालिकास्थित वडा नं. ११ आम्तेकको हो । गएकाे वैशाखमा २५ वर्षीया सीतामाया (नाम परिवर्तन) ले अवैध गर्भ बोकेको थाहा पाएपछि परिवारले समाज भेला गरेर कागज नै गरेर छिमेकी ‘राजन’ भनिने मोहनलाल बास्तोलालाई जिम्मा लगाएका थिए । सुरुमा केटाले अस्वीकार गरे पनि पछि जनप्रतिनिधि, प्रहरी लगायतले सोधपुछ गर्दा मोहनलालले स्वीकार गरेको पीडित महिलाका बाबुले बताए ।
यसअघि नै बिहे भएकी ती महिला साथमा ५ वर्षको छोरासहित माइतमा बस्दै आएकी थिइन् । उनी सुस्त मनस्थितिको रहेको पारिवारिक स्रोतले जनाएको छ । राजनले जिम्मा लिएपछि आफूलाई घरमा नलगी तिवारीभञ्ज्याङ्गको साबुङमा लगेर एक साता राखेको पीडित महिलाले बताएकी छिन् ।
त्यसपछि मोहनलालले ती महिलालाई अरुण गाउँपालिका वडा नं-५, याकुका एक अपाङ्गता भएका युवक र तिनको परिवारलाई फकाएर ती युवकलाई जिम्मा लगाएर गए । ‘८० हजार रकम दिन्छौँ बिहे गर्नुपर्यो भने, छोरा अपाङ्ग छ, सहारा पनि चाहिएको थियो, हुन्छ भनियाे, अहिले पो थाहा भयो केटीले अर्काको गर्भ बोकेकी रैछे, पैसा पनि दिएनन्’, युवककी आमाले गुनासाे गरिन् ।
गुपचुप भइसकेको घटना जिम्मा लगाएको एक महिनामै महिलाको गर्भ निकै महिना पुगिसकेको थाहा पाउनु, कबोल गरेअनुसारको पैसा नपाउनु र माइती पक्षले खोज्दै जाँदा मात्र अर्कैलाई जिम्मा लगाएको थाहा पाएपछि बाहिर आएको हो ।
आफ्नी छोरीचेलीकाे जिम्मा लिएर बिचल्ली पारेर अर्कैलाई वस्तुभाउजस्तो बाटोमै बेचेर हिंड्ने मोहनलाल र त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने र पीडित महिलाको संरक्षण गरिदिनुपर्ने माइती पक्षको माग छ । तर, प्रहरीमा घटना नपुर्याउन भन्दै गाउँका केही बुद्धिजीवी र राजनीतिक दलका अगुवाहरु दबाब दिन लागेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।
अरुण गाउँपालिका उपप्रमुख विनिता ढकालले रकमको मोलमोलाई गरेर जिम्मा लगाउन खोज्दै गर्दा आफूले सुन्नेबित्तिकै आपत्ति जनाएको बताए । न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख ढकालले भनिन्, ‘गाउँपालिकामा केही आएको छैन तर छिमेकी र एउटा अगुवा महिलाको हिसाबले मैले बेलामै सचेत गराएको हो, अहिले आएर झन समस्या निम्त्यो ।’
भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगर आफूले घटनालाई नियाल्दा केही कानुनी जटिलता देखिएको बताए । आर्थिक रुपमा दुवै परिवार कमजोर छन् । उनीहरु आफूहरुसँग अड्डा अदालत धाउने, मुद्दा मामिला गर्ने पहुँच र पैसा नभएको गुनासो गर्छन् । प्रहरी प्रशासनले समेत आफूहरुलाई परेको मर्कालाई गम्भीर रुपमा नलिएको उनीहरुको गुनासो छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६