काठमाण्डौं : देशभरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि मंगलबार बजेट विनियेजन गरेका छन् । देशभरका ७ सय ५३ स्थानीय तह मध्ये कतिपय स्थानियतहहरुले भने प्राविधिक कारण देखाउँदै बजेट विनियोजन गरेनन् ।
देशका ६ वटा महानगरपालिकाले भने बजेट विनियोजन गरि सकेका छन् । महानगरपािलकाहरुले कुल ३९ अर्ब ६६ करोड ९४ लाख बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षमा कुल ३७ अर्ब ४६ करोड २५ लाख रूपैयाँ सार्वजनिक गरेका महानगरले आगामी आर्थिक वर्षका लागि भने करिव दुइ अर्ब बढाएर उक्त रकम प्रस्तुत गरेका हुन् ।
वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ४ अर्ब ४८ करोड १३ लाख रकम बजेट प्रस्तुत गरेके छ । चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ८६ लाख ल्याएको महानगरले आगामी आर्थिक वर्षका लागि भने करिब एक अर्ब घटाएर उक्त रकम ल्याएको हो ।
महानगरभित्रका सडक पूर्वाधारको विकास र स्तरोन्नती, आधारभूत तथा माध्यामिक शिक्षा, त्यसको गुणस्तर सुधार, उज्यालो वीरगन्जजस्ता कार्यक्रमलाई महानगरले प्राथमिकता दिएको छ । वीरगंज महानगरले आर्थिक विकास नीति, समाजिक विकास नीति, पूर्वाधार विकास नीति, पर्यटन, उद्योग, स्वास्थ्य, खानेपानी सरसफाई भाषा, संस्कृति, पर्व रीतिरिवाज, वातावरण तथा विपत्त व्यवस्थापन, संस्थागत विकास लगायतका कार्यक्रमलाई विशेष महत्व दिएको छ ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँको अनुमानित आयव्यव विवरण सार्वजनिक गरेको छ । महानगरले परियोजनाबाहेक भौतिक पूर्वाधार निर्माणका लागि २ अर्ब ५ करोड ३९ लाख,वातावरण, सरसफाइ, विपद् व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र कृषि तथा पशुपन्छी कार्यक्रमका लागि ११ करोड ८३ लाख विनियोजन गरिएको छ ।
भरतपुर महानरपालिका
यस्तै भरतपुर महानरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छ । भरतपुर महानगरपालिकाले ३५ प्रतिशत बजेट पूर्वाधार विकासमा छुट्याएको छ । उत्पादनमा २२, शिक्षा र स्वास्थ्यमा २० तथा वातावरण र सरसफाईमा १० प्रतिशत खर्च गर्ने गरी भरतपुरको बजेट आएको छ । भरतपुर महानगरपालिकामा पूर्वाधार, शिक्षा, पर्यटन र कृषिमा बढी रकम विनियोजन गरिएको छ ।
काठमाडौं महानगरपालिकाको बजेट
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाले चालू आव २०७५/७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गरेके हो । चालू आवमा १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो ।
काठमाडौं महागरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । काठमाडौंले भौतिक पूर्वाधारका कार्यक्रममा ४ अर्ब ३१ करोड र सामाजिक विकासमा १ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन तथा सम्पदा संरक्षण पनि काठमाडौंको प्राथमिकतामा रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।
बजेटको व्ययतर्फ पूँजीगत खर्च एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७का लागि ७ अर्ब ५४ लाख रुपैयाको बजेट विनियोजन गरेको छ । बजेट संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्धन गर्न, आन्तरिक स्रोतको अधिकत्तम परिचालन र व्यवस्थापन गर्न, आर्थिक, भौतिक र सामाजिक पूर्वाधारको विकास गर्न, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र स्वास्थ्य, शिक्षा पूर्वाधार विकास गर्न तर्फ लक्षित रहेको बताइएको छ ।
ललितपुर महानगरको बजेट
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो । त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६