काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० कप क्रिकेटको उपाधि विभागीय टिम एपीएफले जितेको छ। बुधवार भएको फाइनलमा घरेलु टोली सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो।
महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर ७१ रन बनायो। दुई खेलाडीले मात्र दोहोरो अंक जोडेको सुदूरकालागि रुवी कोदारले २४, कविता कुवँरले २२ बनाइन्। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् भने चार खेलाडीले खाता समेत खोल्न सकेनन्।
बलिङमा एपीएफकी करुणा भण्डारी र सीता रानामगरले तीन/तीन विकेट लिइन्। सोनु खड्का, ममता चौधरी र रेखा रावलले एक(एक विकेट लिइन्।
जवाफमा एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर जित हात पार्यो। एपीएफका लागि इन्दु बर्माले २२, सिता रानामगरले १८ र ज्योती पाण्डले १७ रन बनाइन्।
उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदूरपश्चिमले तीन लाखमा चित्त बुझायो।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्वयस्थापनमा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६