भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने एक वर्षदेखिको नियम भारतीय अध्यागमनले परिमार्जन गरेको छ ।
अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको हो ।
नेपाली दूतावासले ६ असारमा जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा मात्रै दिल्लीस्थित अध्यागमनमा एनओसी बुझाउनुपर्नेछ ।
भारतीय अध्यागमनले एक वर्षदेखि भारतका विमानस्थलबाट जुनसुकै तेस्रो देश जाँदा पनि एनओसी चाहिने नियम लागू गरेको थियो ।
नेपाली दूतावास दिल्लीका प्रवक्ता हरिप्रसाद ओडारीका अनुसार भारतको गृह मन्त्रालयले अध्यागमन कार्यालयहरूमा सर्कुलर पठाएर नौ मुलुकबाहेक अन्त जाँदा एनओसी नपर्ने उल्लेख गरेको छ ।
नेपाली दूतावासलाई पनि यो पत्र पठाएपछि दूतावासले नेपालीमा उल्था गरेर सूचना जारी गरेको छ । नेपाली महिला अरब मुलुकमा गैरकानुनी रूपमा जान रोक्ने भन्दै यो प्रावधान लागू भएको थियो । तर, भारतले अन्य देश जाँदा पनि एनओसी अनिवार्य गरेपछि नेपाली यात्रु मर्कामा परेका थिए ।
नियम परिमार्जनसँगै अब भारत हुँदै श्रीलंका, थाइल्यान्ड, म्यानमार भएर अर्को देश जाँदा एनओसी आवश्यक पर्दैन । यी मुलुक हुँदै खाडी देशमा गैरकानुनी रूपमा महिला पुर्याउन अब सहज भएको भन्दै नेपाली अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
एनओसी लागू हुँदा पनि मर्कामा परिने, लागू नहुँदा नेपाली महिला तस्करी गर्नेलाई फाइदा पुग्ने भन्दै नेपाली अधिकारी द्विविधामा छन् ।
भारतले चीन, हङकङ, मकाउ, पाकिस्तानबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा (प्रवेशाज्ञा) अनिवार्य गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६