साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मंगलबार ६४ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । यो हारसँगै घरेलु टोली इंग्ल्यान्डको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना कठिन भएको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।
इंग्ल्यान्डले सुरुवात देखि नै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको दोस्रो बलमै जेसन बेहरनडर्फले ओपनर जेम्स भिन्सलाई शुन्यमा बोल्ड आउट गरे । चौथो ओभरको तेस्रो बलमा मिचेल स्टार्कले जो रुटलाई ८ रनमा एलबी डब्लू आउट गरे । छैटौं ओभरको पाँचौ बलमा स्टार्कले कप्तान इओन मोर्गनलाई ४ रनमा प्याटकमिन्सबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड २६-३ को कमजोर अवस्थामा पुगेको थियो ।
बेयरस्टोलाई बेहरनडर्फलेनै प्याट कमिन्सबाट १४ ओभरको पाँचौ बलमा क्याच आउट गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोकले ७१ साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ उकासे । तर मार्कस स्टोइनिसले २८ ओभरको दोस्रो बलमा उस्मान खवाजाबाट २५ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो । तल्लोक्रमका आदिल राशिदले २० बलमा ३ चौका र १ छक्का सहित २५, क्रिस वोक्स २६,मोइन अली ६ र जोफ्रा आर्चरले १ रन जोडे ।
अष्ट्रेलियाको जितमा नायक बनेका जेसन बेहरनडर्फले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै मिचेल स्टार्कले पनि ८.४ ओभरमा १ मेडन सहित ४३ रन खर्चिदै ४ विकेट हात पारे ।मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो ।
त्यसअघि लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६