काठमाडौं: प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाइन्। साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरिन् ।
सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
यस अघि नै गायक शिव परियारले मुख खोलेका छन् । उनले यसरी जातिय विभेद गरेर खिल्ली उडाएमा चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । उनले पहिले बल बुद्वि लगाएर तल झार्न खोज्ने र त्यो असफल भयो भने सम्बन्धीत विद्यामा अज्ञानी छ भनेर दुस्प्रचार गरेर तल झार्न खोज्ने बताए । अन्तिममा केहि भएन भने चरित्र हत्या गरेर कामी, दमाइ, हैसियत भनेर खिल्ली उडाउने बताए ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६