काठमाडाैं : अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजना फास्ट ट्र्याकबाट कार्यान्वयन गर्न सकिने बताएका छन् । हाल सञ्चालनमा रहेको यस्ता आयोजना सवैको प्रगति समान रुपले हुन नसकेको भन्दै उनले यी आयोजना र अन्य आयोजना कार्यान्वयन गर्ने विधि एउटै भएकाले अपेक्षित परिणाम हासिल हुन नसकेको बताए ।
मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले अरु साधारण आयोजनाले जस्तै राष्ट्रिय गौरवका आयोजनाले पनि विविध समस्याहरु भाग्नुपरिरहेको बताए । ‘निर्माण सामग्रीको अभाव, ठेक्कापट्टाको अभाव, स्थानीय अवरोध, खरीद सम्बन्धी अरु समस्याहरु जुन अरु साधारण आयोजनाहरुले भोग्नुपर्छ, त्यो राष्ट्रिय गौरवका आयोजनामा पनि पर्दै गयो,’ उनले भने ।
केही ठूला पूर्वाधार आयोजनाहरुलाई कार्यान्वयन गर्ने सम्बन्धी ऐनको विधेयक संसदमा पेश भएको जानकारी गराउँदै उनले भने, ‘फास्ट ट्र्याकबाट यस्ता आयोजना कार्यान्वयन गर्नेमा जाऔं भन्ने हो भने त्यो कुरा हुन्छ, यसमा छलफल गरेर कुनै निर्णयमा पुग्न सक्छौं ।’
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६