काठमाडाैं : कञ्चनपुरकाे बेलौरी नगरपालिका क्षेत्रमा पर्ने हुलाकी खण्डको निर्माणमा भारतीय सीमा सुरक्षा बल एसएसबिले राेक लगाएका छन् ।उनले भारतीय भूमीमा सडक निर्माण भइरहेको भन्दै अवरोध सिर्जना गर्दै रोक लगाएको जनाइएकाे छ ।
एसएसबीले जिल्लाको बेलौरी नगरपालिका क्षेत्रमा पर्ने हुलाकी खण्डको एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध सिर्जना गर्दै निर्माणमा रोक लगाएको हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए। भारतीय पक्षले आफ्नो भूमी भन्दै सडक निर्माणमा अवरोध सिर्जना गरेको छ, उनले भने, सुरक्षा निकायको पहलमा समन्वय भइरहेको छ। तर उनले भारतीय पक्षबाट अधिकारीक पत्र आउन भने बाँकी रहेको बताए।
सडक योजना कार्यालयका अनुसार भारतीय एसएसबीले निर्माण कम्पनीलाई जेठ अन्तीम सातातीर निर्माण कार्य रोक्न दबाब दिएका थिए। एसएसबीले ठेक्का सम्झौता पाएको बाबाहंस–सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण रोक्नमा दबाब दिएको योजना कार्यालयले जनाएको छ।
उक्त क्षेत्रमा बेस निर्माणको काम सकेर कालोपत्रेको तयारी गरिएको थियो। तर भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको ईन्जिनियर पदम बहादुर मडैले बताए। उनले सो विषयमा माथिल्लो निकायमा पनि जानकारी गराइसकेको बताएका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुिसल कुमार वैद्यले संयुक्त सीमा सर्भे टोली फर्किसकेकाले एसएसबीलाई अवरोध सिर्जना नगर्न आग्रह गरिएको बताए। तर अवरोध कायमै राखेपछि उक्त विषयमा थप छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए।
यस विषयमा मंगलबार संसदमा सांसद इन्दु कडरियाले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन्।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६