एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
२ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा समेटियो । अफगानिस्तानको लागि मध्यक्रमका समिउल्लाह शिनवारी ४९ रनमा अविजित रहे । कप्तान गुलबदीन नाइबले ४७ रनको योगदान दिए ।
ओपनर नाइब र रामत शाहले १०.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । सकीबले पुर्व कप्तान अस्गर अफगानलाई ३३ ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । त्यस अघि सकीबले २९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीलाई शुन्यमा बोल्ड आउट गरेपछि बंगलादेश सहज जिततर्फ लम्केको थियो ।
त्यस्तै विकेटकीपर इकराम अलीखिल ११,नजिवउल्लाह जदरान २३,राशिद खान २,दलावत जदरान र मुजिव उर रहमान डक आउट भए ।
बंगलादेशलाई सहज जित दिलाउन सकीब अल हसनले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ५ विकेट लिए । मुस्ताफिजुर रहमान २, मोहम्मद सैफुद्दीन र मोसाद्देक हसन नाममा समान १ विकेट रह्यो ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६