काठमाडौं : पछिल्लो समय छाउपडी प्रथा विस्थापित हुँदै गएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा जरै गाडेर बसेको छाउपडी प्रथा पछिल्लो समय महिलाहरु सचेत बन्न थालेपछि विस्थापित हुँदै जान थालेको हो ।
विभिन्न ठाउँका अधिकांश महिलाहरुले गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार कार्यले छाउ मान्न छुटाएको दाबी गरेका छन् । जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी हुँदा जहिल्यै छाउगोठमा बस्थिन् । छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोगेकी उनले धेरै सङ्घसंस्थाबाट जनचेतना/क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउ मान्न पनि छाडेको बताउँछन् ।
छाउ हुँदा घरभित्र बसे देवीदेवताले सराप्ने, बोटबिरुवा छोए पाप लाग्ने वा सुक्ने र गाई भैँसीको दूध, दही खान नहुने लगायतका अन्धविश्वासले मेरो स्वास्थ्य निकै कमजोर भयो, अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुध्रिएको छ , सिद्धा शाहीले भनिन्। आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको उाले बताइन् ।
वाटर/एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छ व्यवस्थापनसम्बन्धी तालीम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन् । हरेक महीना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउ प्रथा मान्ने महिलाको सङ्ख्या विस्तारै घट्दै गएको हो ।
जुम्लाको हिमा–३ की २७ वर्षीया सेतु योगीको पनि उस्तै कथा छ । उनले भनिन् जब समूह र घरमा स्वास्थ्य सवालका कुरा बढ्दै गए, हामीले घरमै सफा कपडाबाट प्याड बनाउन सिक्यौँ, त्यसले छाउ हुँदा प्याड प्रयोग गर्न मात्र होइन, छाउ मान्ने दिन घटाउँदै शून्यमा झ¥यो । घरमा उपलब्ध सफा कपडाको प्याड बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
महिनावारीका बेला सुक्खा खानेकुरा खाने, प्याड प्रयोग नगर्ने, पातलो आछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँ महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ भने कतिपयले छाउप्रथाकै कारण अकालमा ज्यान पनि गुमाउनुपरेको छ ।
परम्परागत रुढीवादी छाउ संस्कार हटाउन स्वयं छाउ मान्ने व्यक्ति र महिनावारी हुने महिला परिवर्तन हुन जरुरी रहेको गाउँपालिका स्वास्थ्य संयोजक क्षेत्र महतले बताए ।
गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताइन् । महिनावारी हुने महिलालाई लक्षित गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ, गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुने छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६