सोलुखुम्बु: थुलुङदुधकोशी गाउँपालिकाको एक विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ । थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमकाे जनता माध्यमिक विद्यालयको प्राङ्गणमा शंकास्पद वस्तु भेटिएकाले प्रहरी परिचालन गरिएकाे साेलखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए । प्रजिअ रानाका अनुसार नजिक प्रहरी चौकी नभएकाेले सुकेपोखरीकाे टोली घटनास्थलतर्फ गइसकेका छन् ।
विद्यालय प्राङ्गनमा रहेकाे बाल क्लव, विद्यालय र राष्ट्रिय झण्डा उखेलेर सोही स्थानमा तारले बेरेको अवस्थामा सानो वस्तु राखिएको छ । उक्त वस्तुलाई रातो कपडाले समेत बेरेको अवस्था स्थानीयले आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थल पुगेपछि मात्र वास्तविकता थाहा हुने प्रजिअ रानाले बताए ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६