काठमाडौं : पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आर्थिक वर्षको घटनाभन्दा करीब दोब्बर हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष ५९ यस्ता घटना भएका थिए ।
प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहका अनुसार महिला हिंसाका घटनामध्ये अधिकांश घटना जबर्जस्ती करणीका छन् । उनका अनुसार आव २०७२/७३ मा ६८ र २०७३/७४ मा ६७ बलात्कारका घटना भएका थिए ।
यस आर्थिक वर्षको चैत सम्ममा मात्र ११६ बलात्कारका घटना भएको तथ्याङ्कमा उल्लेख छ । प्रहरी प्रमुख शाहले अधिकांश बलात्कारका घटनामा बालिका नै पीडित भएको बताए । बलात्कारसँगै बहुविवाह, बालविवाहका घटना पनि उल्लेख्य रहेकाले यसका लागि आर्थिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत महिला हिंसा र लागुऔषधको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
जिल्लाका ७९ स्थानीय तहका सबै वडामा उक्त कार्यक्रम सञ्चालन गर्न प्रशिक्षकलाई तालीम दिइरहेको पनि प्रहरी प्रमुख शाहको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६