नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।
शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए । घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए ।
घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए । बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन् । घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए ।
आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६