काठमाडौं: सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा वार्षिक तुलनाका आधारमा ४३ प्रतिशत खर्च गरेर सडक पूर्वाधारको विकासमा करिब ४८ प्रतिशत भौतिक प्रगति गरेको छ । यो प्रगति दोस्रो चौमासिक आधारमा भने ७६ प्रतिशत हो भने वित्तीय प्रगति ८० प्रतिशत खर्च भएको छ ।
चालू आर्थिक वर्षमा वैदेशिक ऋणबाट सञ्चालित आयोजनामा खर्च निराशाजनक रहेको छ । दोस्रो चौमासिकमा १९ प्रतिशत मात्र खर्च भएको हो ।आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिकसम्मको खर्च विवरणअनुसार सडक विभागअन्तर्गतका विकास आयोजनामा ३४ अर्ब ८२ करोड ३० लाख ४३ हजार खर्च भएको छ । यो कुल बजेटको ४३.४१ प्रतिशत खर्च हो । यस अवधिमा ४७.९२ प्रतिशत भौतिक प्रगति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २० वैशाखमा दोस्रो चौमासिक तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसेको थियो । २० वैशाखसम्मको तथ्यांकअनुसार सडक विभागअन्तर्गतका विकास आयोजनातर्फ दोस्रो चौमासिकमा ८०.०६ प्रतिशत वित्तीय प्रगति भएको छ भने ७६.०५ प्रतिशत भौतिक प्रगति भएको छ । वार्षिक तुलनामा यो ४३.४१ प्रतिशत वित्तीय प्रगति भएको र भौतिक प्रगति ४७.९२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ का लागि नेपाल सरकारबाट २९ अर्ब ८३ करोड ३४ लाख ९ हजार अर्थात् ३७ प्रतिशत विनियोजन भएको थियो । दोस्रो चौमासिकसम्म २४ अर्ब ७९ करोड ११ लाख ६८ हजार अर्थात् ८३ प्रतिशत खर्च भएको छ ।
यस्तै, वैदेशिक ऋणबाट चालू आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ७४ लाख अर्थात् ५८ प्रतिशत विनियोजन भएको छ । त्यसमा ८ अर्ब ९५ करोड ९५ लाख २४ हजार अर्थात् १९ प्रतिशत मात्र खर्च भएको छ । वैदेशिक अनुदानतर्फ ५ प्रतिशत अर्थात् ३ अर्ब ७९ करोड ३० लाख विनियोजन भएकोमा २८ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ३५ लाख १ हजार खर्च भएको छ ।
नेपाल सरकार, वैदेशिक ऋण र वैदेशिक अनुदानमध्ये सबैभन्दा कम खर्च १९ प्रतिशत वैदेशिक ऋणअन्तर्गत भएको हो भने सबै बढी नेपाल सरकारअन्तर्गतको ८३ प्रतिशत भएको हो । आजकाे राजधानीमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६