एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो ।
नाबीलाई हार्दिक पान्ड्याबाट ५२ रनमा क्याच आउट गराएपछि अफगानिस्तानको जित टाढिएको थियो । सुस्त सुरुवात गरेको अफगानिस्तानले ओपनर हज्रतुल्लाह जजाईलाई १० रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि गुवदीन नाइब र रामत शाहले ४४ रनको साझेदारी गर्दै इनिङ उकासे ।
१७ औं ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले नाइबलाई २७ रनमा विजय शंकरबाट क्याच गराउँदै पेभिलिएन फर्काए । २९ ओभरको चौथो बलमा जसप्रित बुमराहले शाहलाई युजवेन्द्र चाहलबाट क्याच गराउँदै ३६ रनमा आउट गरे । लगत्तै एकबलपछि बुमराहले हशमतुल्लाह साहिदीलाई आफैं क्याच लिदै २१ रनमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।
भारतको जितमा नायक बनेका मोहम्मद सामीले ९.५ ओभरमा १ मेडन सहित ४० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, युजवेन्द्र चाहल र हार्दिक पान्ड्याले समान २ विकेट लिए ।
त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनमात्रै बनाएको थियो ।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए ।
भारतले ओपनर रोहित शर्मालाई १ रनमा गुमाएको थियो । मोहम्मद नाबीले १५ ओभरको दोस्रो बलमा हज्रतुल्लाह जजाईबाट क्याच आउट गराउँदै अर्का ओपनर के एल राहुललाई ३० रनमा पेभिलिएन फर्काए । विजय शंकरलाई रहमात शाहले २९ रनमा एलवी डब्लू गरे । त्यस्तै विकेटकीपर महेन्द्रसिंह धोनीले ५२ बलमा २८ रनमात्रै जोड्न सके ।
केदार जाधवले ६८ बलमा ५२ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ७ रनमा क्याच आउट भए ।
अफगानिस्तानका लागि मोहम्मद नाबी र कप्तान गुलवदीन नाइबले समान २ विकेट हात पारे । राशिद खान, रमात शाह,मुजिव उर रहमान,अफ्तव आलमको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६