काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ ।
आजको सचिवालय वैठकले राजनीतिक दस्तावेज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भनिए पनि बैठकमा एजेण्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले बताए ।
महासचिव पौडेलका अनुसार राजनीतिक प्रतिवेदन कसरी सम्पादन भइरहेको छ भन्ने जानकारी गराउनुका साथै छिट्टै एकताका बाँकी काम सम्पन्न गर्ने निष्कर्ष निकालिएको छ ।
बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्नेबारेमा मिति तय भएको छैन ।
शनिबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालय बैठक बसेको हो । लामो समय नेकपा एकीकरणको काम पूरा हुन नसक्दा पार्टी सञ्चालनमा विभिन्न समस्याहरु देखिंदै आएका छन् ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६