सरकारी तथा गैरसरकारी संघसंस्थाले गुठी संस्थानको अधीनमा रहेको ६५ बिघा १७ कट्ठा पाँच धुर जग्गा अतिक्रमण गरेका छन् ।
जनकपुरमा रहेका अदालतदेखि विभिन्न युवा क्लबले ठूलो परिमाणको जग्गामा भवन निर्माण गरी उपभोग गरिरहेको गुठी संस्थान जनकपुर शाखाको तथ्यांकमा उल्लेख छ ।
०६३ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा अतिक्रमणमा परेका जनकपुरका पोखरी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरिएको थियो । सो आयोगले बुझाएको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
प्रतिवेदनका अनुसार विभिन्न १७ वटा युवा क्लब तथा संघसंस्थाले २५ बिघा १० कट्ठा १५ धुर तथा विभिन्न ३२ वटा सरकारी कार्यालयले ४० बिघा ६ कट्ठा १० धुर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् ।
गुठी अधीनस्थ रहेको जग्गा सात सय १२ बिघा एक कट्ठा, तैनाथी गुठीको जग्गा एक हजार सात सय ४३ बिघा १० कट्ठा १३ धुर, रैतान नम्बरी जग्गा ३६ हजार एक सय तीन बिघा १० कट्ठा चार धुर रहेको गुठी संस्थान जनकपुर शाखाले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६