एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो ।
२ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै ८२ रनमा अविजित रहेपनि जितका लागि पर्याप्त भएन ।
इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमा ओपनर जोनी बेयरस्टोलाई शुन्यमा गुमाएको थियो । उनलाई लाथिस मलिङ्गाले एलवी डब्लू आउट गरे । सातौं ओभरको पाँचौ बलमा जेम्श भिन्सलाई मलिङ्गाले १४ रनमा कुशल मेन्डिसबाट क्याच आउट गराए । १९ ओभरको चौथो बलमा इसरु उडानाले कप्तान इओन मोर्गनलाई १८ रनमा आफैं क्याच लिँदै पेभिलिएनको बाटो देखाएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।
चौथो विकेटका लागि जो रुट र बेन स्टोक्सले ५४ रनको साझेदारी गर्दै दबाब केहि कम गरे । तर मलिङ्गाले ३१ ओभरको तेस्रो बलमा जो रुटलाई कुशल परेराबाट ५७ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड थप समस्यामा परेको थियो । विकेटकीपर जस बटलरलाई मालिंगाले नै एलबीडब्लू आउट गर्दै १० रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्ड संकटमा परेको थियो । धनञ्जय डी शिल्भाले मोइन अलीलाई १६, क्रिस वोक्सलाई २ र आदिल राशिदलाई १ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो ।
श्रीलंका लागि लाथिस मलिङ्गाले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै धनन्जय डी शिल्भाले पनि ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट हात पारे । इसुरु उडाना २ र नुवान प्रदीपको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक अविजित ८५ रनको योगदान दिए ।
ओपनर दिमुथ करुणारत्नेलाई जोफ्रा आर्चरले दोस्रो ओभरमा अन्तिम बलमा विकेटकीपर जस बटलरबाट क्याच गराउँदै १ पेभिलिएन फर्काएका थिए । लगत्तै दुई बलपछि अर्का ओपनर कुशल परेरा २ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि अबिष्का फर्नान्डो र कुशल मेन्डिसले ५९ रनको साझेदारी गरे । १३ ओभरको पाँचौ बलमा मार्क उडले आदिल राशिदबाट फर्नान्डोलाई ४९ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।
चौथो विकेटका लागि मेन्डिस र मेथ्यिुजले ७१ रनको साझेदारी गर्दै इनिङ उकासे । ३० ओभरको चौथो बलमा आदिल राशिदले कप्तान इओन मोर्गनबाट क्याच गराउँदै मेन्डिसलाई ४६ रनमा पेभिलिएन फर्काए । लगत्तै अर्को बलमा राशिदले जीवन मेन्डिसलाई शुन्यमा आउट गरे । धनञ्जय डी शिल्भा २९,तिसेरा परेरा २,इसुरु उडाना ६ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले १० ओभरमा २ मेडन सहित ५२ रन खर्चेर ३ विकेट लिए । मार्क उडले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट हात पारे । आदिल राशिद २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६