सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका मुक्ली ६ मैदेलका व्यावशायिक कृषक मनकुमार गुरुङको अलैँची खेतिप्रतिको मोह हराउँदै गएको छ । अलैँचीको बगानमा अज्ञात रोगका कारण बिरुवा मर्न थालेपछि यस खेतिप्रतिको मोह हराउँदै गएको बताउँछन्, ‘अलैँचीका बोटहरु सबै मरेर जान थाल्यो । जति स्याहार गर्दा पनि सखाप हुँदै गएका छन ।’
गुरुङले २० रोपनी जग्गामा रामसाई, गोलसाई र जिर्मली गरी तीन जातका अलैँचीको खेति लगाएका छन । उनले दुई लाख ५० हजार लगानीमा खेति सुरु गरेको बताउँछन । खेति सुरु गरेको पहिलो वर्ष १२ रोपनी जग्गामा बिरुवा लगाएपछि, फेरि अर्को वर्ष थप आठ रोपनी जग्गामा अलैँचीको बिरुवा लगाए ।
बिरुवा रोपेको तीन वर्षपछि मात्र उत्पादन लिन सकिने भएकाले केहि वर्ष गोड्मेल र स्याहार सुसारमा नै समय गएको गुरुङ बताउँछन् । रोपेको तीन वर्षपछि अलैँची केहि मात्रामा फल्यो । उनले अलैँची टिप्ने तरखर गर्दै थिए । उनले पहिलो पटक ८० किलोग्राम अलैँची बगानबाट टिपे । तर उनले भनेजस्तो अलैँचीको मूल्य पाएनन । केहि समय घरमा नै अलैँची थन्काएर बसे । केहि समयपछि काठमाडौँको त्रिपुरेश्वरमा उनले १००० रुपैयाँ केजीमा १५ केजी अलैँची बेचेर मनमा थोरै खुशी र आशा लिएर सोलुखुम्ुबु फर्केको बताए ।
उनले बिरुवा बेचेर ५० हजार रुपैयाँ आम्दानी लिएको सुनाए । उनी भन्छन्,‘आफ्नो लगानि र मेहनत अनुसारको आम्दानी त भएन तरपनि घरमा नै थन्काइरहनु भन्दा केहि मात्रामा व्यापार भयो खुशी नै मान्नुपर्यो ।’
पहिलो वर्ष ठिकै मात्रामा आम्दानी लिएपनि अर्को वर्षबाट भने अलैँचीको बोटमा अज्ञात किसीमको रोग लाग्न थाल्यो । उनले जम्मा दुई वर्षमात्र उत्पादन लिन सफल भए । त्यो पनि आफुले भनेजस्तो नहँुदा निराशा मात्र हुनुपरेको गुरुङ सुनाउछन् । उनले कृषि विशेषज्ञ र प्राविधिक कहाँ पुगेर अनुगमणका लागि आग्रह गरे । तर उनीहरुले ठाउँ अनुकुल नभएको बताएपछि खेतिप्रति झन उनको मन पनि मर्दै गयो । उनले कृषि कार्यालयबाट औषधी पनि लिएर बगानमा लगाए तर पनि भएन । उनी भन्छन्, ‘डाँठ सुकेर बोट भाँचिन्छ, फेरी त्यसको जराबाट अर्को मूना त आउँछ । आश हुन्छ सप्रिन्छ कि भनेर तर त्यो पनि बोट केहि ठूलो भएपछि फेरी मर्न शुरु गर्छ अहिले सबै बोटहरु सुकेर जाँदै छन् यो खेति त जुवा खेले बराबर भयो ।’
४० रोपनी जग्गामा अलैँची खेति लगाउने लक्ष्य रहेको मनकुमार गुरुङ बताउछन । तर त्यो सपना २० रोपनी जग्गामा लगाएको बालिले राम्रो आम्दानी दिन छाडेपछि त्यतिमै सीमित भएको छ । उनी भन्छन् ‘यो खेति फस्टाएन दोधारमा परेको छु । अब यसलाई मासेर अरु नै खेति गर्ने सोचमा छु ।’
पाँच वर्ष मेहनत गरेको व्यवसायबाट सोचेजस्तो आम्दानी नपाउँदा व्यवसाय परिवर्तन गर्ने सोचमा रहेका मनकुमार गुरुङ भन्छन ‘करिव दुई लाख ५० हजारको लगानिमा लगाएको खेतिबाट लाखौँ घाटा र हजारौँ मात्र फाईदा हुन्छ भने यस्तो खेतिले कसरी उभो लागिन्छ ? कसरी हुन्छ यसरी कृषि क्रान्ति ?’
वर्षौँ मेहनत गरेर भित्र्याएको बालीबाट मनग्य आम्दानी हुन्छ भनेर सोच्नु सपना जस्तै भएको गुरुङको बुझाई छ । अझ भरोसा पर्नु त जुवाको खेल हो भन्छन् उनी । अहिले उनले अलैँचीको अलावा किवि, खुर्सानी, आलु खेति साथै कुखुरापालन सुरु गरेका छन । व्यवसायिक रुपमा अलैँची खेति गर्ने मनसाय भएपनि विभिन्न बाध्यताले गर्दा व्यावसायिक रुपमा अलैँची खेति गर्न नसकेको उनी गुनासो गर्छन । उनी भन्छन ‘बजारमा अलैँचीको भाउ नपाउने समस्या त छदै छ तर अज्ञात रोगका कारण बोट मर्ने समस्या थपिएर हैरान बनायो ।’
अलैँची एक नगदेबाली हो । यो मसलाबालीमा पर्दछ । साथै यसलाई कालोसुनको रुपमा चिनिन्छ । अलैँची खेतिको लागि चिस्यान तथा पानी पलाउने ठाउँ उचित हुन्छ । पछिल्लो समयमा धेरै किसानहरुले अलैँची खेतिलाई रोजेर व्यवसायिक बन्ने सपना, सपना मात्र बन्दै गएको कुरा कृषकहरुको वर्षौँ वर्षको अनुभवबाट हामीले बुझ्न सक्छौँ । के यसका लागि सम्बन्धित निकायहरु छैनन त ? कृषि विशेषज्ञ र कृषि प्राविधिकका टोलिहरुले माटो परिक्षणको साथै समय समयमा अनुगमण मात्र गरिदिए पनि कृषकहरुको हौसला अवश्य बढ्नेछ । कृषकहरुलाई राज्यले अझ थप सुविधाहरु प्रदान गर्नुपर्ने र स्थानिय सरकारले पनि विभिन्न कार्यक्रमहरु गर्नुपर्ने कृषकहरुको माग रहेको छ । साथै गाउँपालिकाबाट कृषि प्राविधिकहरुले बिरुवा वितरण मात्र नभएर अवलोकन समेत गर्नुपर्ने कृषकहरु बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६