कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । जापानले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए । तर त्यसको ५ मिनेटमा नै उरुग्वेले गोल फर्कायो । नाओमिची उएडाले पेनाल्टी क्षेत्रभित्र एडिन्सन काभानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुइस सुआरेजले सहजै गोल गरे ।
दोस्रो हाफको ५९ औं मिनेटमा जापानले पुन: अग्रता लियो । गोलरक्षक फर्नान्डो मुस्लेराले सहज क्रसलाई सम्हाल्न नसक्दा फर्केर आएको बललाई मियोशीले गोलमा परिणत गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे । त्यसको केहि मिनेटमा नै सुआरेजले गरेको शक्तिशाली प्रहारलाई कावाशिमाले विफल पारे ।
६६ औं मिनेटमा उरुग्वेले फेरी खेल बराबरीमा ल्यायो । निकोलस लोडीएरोको कर्नरमा जोसे जिमिनेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६