काठमाडौं: गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ ।
कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन । ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदै छ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् । १८ मिटर चौडा सडकको दुवैतर्पm दुई/दुई मिटर सडक पेटी र मध्यभागमा बनाउनुपर्ने मेडियनको काम बाँकी नै छ । पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन ।
कलङ्की चोकदेखि तीन सय मिटर तलसम्म कालोपत्रे, पेटी तथा मेडियन निर्माण सबै बाँकी छ । ढुङ्गेअड्डादेखि नैकापसम्म पेटी क्षेत्र छुट्याएर कालोपत्रे गरिए पनि मेडियनको काम ढुङ्गेअड्डामा मात्र गरिएको छ । नैकापदेखि बल्खु खोलापुलसम्म साविककै सडक क्षेत्रफलमा कालोपत्रे गरिएको छ । सडकपेटी मेडियन निर्धारण हुनै सकेको छैन । बल्खुखोला पुलदेखि सतुङ्गलको बजारनजिक बागेश्वरी अस्पतालसम्म भने सडक करिब करिब तयारी अवस्थामा पुगेको छ । केही स्थानमा सडक पेटीलाई अन्तिम रूप दिनमात्र बाँकी छ ।
बजार क्षेत्रमा भने सडक विस्तारको काम हुन सकेको छैन । वर्षात्को भेल व्यवस्थापनमा स्थानीयसँग समझदारी हुन नसक्दा यो क्षेत्रमा ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । समस्या समाधानका लागि पहल भइरहेको काठमाडौंँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सतुङ्गल बजारनजिक करिब पाँच सय मिटर आरसीसी ढलानमध्ये आधा खण्डमात्र सकिएको छ । आधा चौडाइमा ढलानका लागि भर्खर रड बाँध्ने काम भइरहेको छ । पहिले कालोपत्रे गरिएकामा त्यो टिकाउ नभएपछि आयोजनाले गत वैशाखमा मात्रै आरसीसी ढलान गर्ने निर्णय गरेको थियो । निर्माण कम्पनी सैलुङ निर्माण सेवाका संयोजक नवराज भण्डारीका अनुसार सो क्षेत्रमा यातायात पनि सञ्चालन गर्दै निर्माण पनि जारी राख्नुपरेकाले केही ढिलाइ भएको हो । “ढलान गरेपछि दुई हप्ता त्यसमाथि गाडी गुडाउन मिल्दैन, त्यसैले त्यहाँ चाहेर पनि छिटो काम हुन सक्दैन, यो काम पछि थपिएकाले पनि केही ढिलाइ भएजस्तो देखिएको हो,” उनले थपे, “असार मसान्तभित्र कलङ्की नागढुङ्गा सडकको सबै काम सकिन्छ । ”
गुर्जुधारा क्षेत्रमा पनि सडक विस्तार खुम्चिएको छ । मुआब्जा विवादका कारण थप जग्गा प्रयोगमा ल्याउन नसक्ने भएपछि सो क्षेत्रमा साविक ११ मिटर चौडाइमा सडकलाई अन्तिम रूप दिइँदै छ । चन्द्रागिरि नगरपालिका १२ नं. वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठले सडक विस्तारमा स्थानीयहरू यथाशक्य सकारात्मक रहेको बताए । आजकाे खोरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६