निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका छन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।
सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । भित्रका मजदुर र बाहिर उद्धारकर्मीबीच रेडियो सेटबाट संवाद भइरहेको छ ।
सुरुङको मुख थुनिए पनि भित्र अक्सिजन पुगेको र आफूहरू सुरक्षित रहेको जानकारी उनीहरूले दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ । गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ । यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६