काठमाडौं : संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुतका साथसाथै बजेट पनि विनियोजन भइसकेकाे छ । केन्द्र र प्रदेश दुवैले युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने नीतिलाई प्राथामिकतामा राखेका छन् ।
नेपाली युवालाई स्वदेशमै रोजगारी दिने भनिरहे पनि विदेशी (कोरियन,जापनिज)भाषा सिकाउँदै युवालाई विदेश पठाउने काममा सरकार आफै प्रत्यक्ष संलग्न छ । यसले पनि दैनिक सयौं युवाहरु विदेश पलायन हुने क्रम बढि रहेको छ ।
चालु आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले युवालाई रोजगारीका अवसर सिर्जना गरी पाँच वर्षभित्र कुनै पनि नेपाली नागरिक बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो । यो सँगै शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम पनि छ । तर पाँच लाख युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेर ल्याइएको सो कार्यक्रम असफल भएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् पाँच लाख युवालाई रोजगारी दिने घोषणा गरे । त्यसका लागि बजेटमा ३ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ । वर्सेनी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याइरहने र युवा विदेशिने परिपाटी हावी बन्दै गएको छ ।
पछिल्लो समय युवाहरुको मुख्य रोजगारीको गन्तव्य कोरिया बन्दै गएको छ । खाडी देशको तुलनामा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाइने भएकैले नेपाली युवा कोरिया जाने क्रम बढेको हो । खाडी देशमा जस्तो श्रम शोषण र ठगी हुने जोखिम कोरियामा निकै कम छ । अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ७० हजार रुपैयाँ तोकिएको छ ।
अहिले सम्म कति गए कोरिया ?
इपिएस कोरिया शाखाले दिएको एक तथ्यांकअनुसार सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन थालेपछि त्यस यता हालसम्म ईपीएसमार्फत ६१ हजार ७ सय ४७ जना नेपाली रोजगारीका लागि कोरिया पुगिसकेका छन् । यस अवधिमा ५ लाख ८९ हजार ६ सय १८ जनाले परीक्षा दिएका छन् । तर ७० हजार ४ सय ६९ जना मात्रै उत्तीर्ण भए ।
शाखाले दिएको एक तथ्यांकअनुसार यसरी भाषा परीक्षा पास गरेर काम गर्न जाने मध्ये सन् २००८ मा २ हजार ८१४ जना नेपालीहरु कोरिया पुगेका थिए । त्यस वर्ष ३१ हजार ५२५ जनाले परीक्षा दिएकोमा ६ हजार ७८६ जना उत्तीर्ण भएका थिए । त्यस्तै सन् २००९ मा भाषा परीक्षा भएन र अघिल्लो वर्षकै उत्तीर्ण भएकामध्ये १ हजार ९११ जना कोरिया गएका थिए ।
सन् २०१० मा ३६ हजार २०३ जनाले परीक्षा दिए पनि ४ हजार १८० जनाले मात्र परीक्षा पास गरेका थिए । सन् २०११ मा ५० हजार ४३ जनाले भाषा परीक्षा दिएका थिए । जसमध्ये १५ हजार ६७८ जना उत्तीर्ण भएका र ३ हजार ९८३ जना मात्र कोरिया गएका थिए ।
अघिल्लो वर्ष उत्तीर्ण भएकाहरु नै जान बाँकी रहेकाले सन् २०१२ मा भाषा परीक्षा स्थगित गरियो । त्यो वर्ष ६ हजार ३३२ जना कोरिया गए । यसैगरी सन् २०१३ मा ४४ हजार ११२ जनाले परीक्षा दिएकोमा ८ हजार ५१ जना पास भए र ५ हजार ४६ जना कोरिया गए । २०१४ मा ५७ हजार ७४६ जना परीक्षामा सामेल भए । ३ हजार ६६३ जना उत्तीर्र्ण भएका र यस वर्ष ६ हजार २८ जना कोरिया गएका थिए । २०१५ मा ५१ हजार १३७ ले परीक्षा दिएर ८ हजार ४९० जना पास भए । त्यो वर्ष ५ हजार ८६६ जना कोरिया पुगेका थिए ।
सन् २०१६ मा ६० हजार ६२६ जना परीक्षामा सामेल भएका मध्ये ३ हजार ५१७ जना मात्र सफल भए र त्यस वर्ष ६ हजार ६२६ जना कोरिया उडेका थिए । २०१७ मा ७५ हजार ५ सय ८०ले परिक्षा दिएकोमा १२ हजार १०८ मात्र उतिर्ण भए ।
यस्तै सन् २०१८ मा ८२ हजार २ सय ३५ ले परीक्षा दिएका थिए । त्यसमा ७ हजार ९ सय ९६ मात्रै पास भएका थिए । अहिले २०१९ मा ९२ हजार ३ सय ५६ जनाले परिक्षा दिएका छन् जसमध्ये १० हजार ५० जना छानिने छन् ।
एक पटक भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना कोरिया बस्न पाउँछन् । पहिलो ४ वर्ष १० महिना नकटदै कामदारले श्रम सम्झौता नवीकरण गर्नुपर्छ । त्यसपछि थप ४ वर्ष १० महिना समय थपिन्छ । यसले गर्दा कोरिया नेपाली युवाको रोजगारीका लागि आकर्षक गन्तव्य बन्दै गएको इपिएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले बताए ।
के भन्छन् युवाहरु ?
पढाई सकेर स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेका हरेक युवाहरु बाध्यताले विदेश जानु परेको बताउँछन् । सुनौलो भविश्य सोचेर पढाइको सिलसिलामा काठमाडौं छिर्ने हरेक युवाहरुलाई काठमाडौंको महंगीले विदेश जान उत्पेरित गर्छ । भदौ देखि कोरिएन भाषाको तयारीमा रहेका डोटीका टेकराज भट्ट शिक्षाले स्नातक पास हुन् । अंग्रेजी विषयमा स्नातक गरेका उनि आज सम्म गरेको लगानी अनुसारको आम्दानी नहुने सोचे पछि विदेश जाने कुरा निर्धारण गरेको बताउँछन् ।
नेपालमा बेरोजगारी र महंगी बढ्दै गएको बताउँदै उनले छोटै समयमा राम्रो आम्दानी गर्न सकिने भएकोले कोरिया जाने सोच बनाएको बताए ।
यस्तै काभ्रेकी ममता पौडेलले यो वर्ष पहिलो पटक कोरियाली भाषा परीक्षा दिइन् । उनि भन्छिन ‘जति पढेलेखे पनि यता जागिर नपाइने रहेछ, कमाउन विदेश जानैपर्ने , ढिला गर्नु भन्दा अहिल्यैदेखि कोसिस गरौं भन्ने लाग्यो,त्यसैले मैले कोरिया भाषाको परिक्षा दिएकी छु खै के हुन्छ ।′ आफ्नो गाउँका प्राय: सबैले कोरियन भाषाको परिक्षा दिएको उनले बताईन् ।
ललितपुरका भुपेष महर्जनको कुरा पनि अरुको भन्दा फरक छैन । आफ्ना दाजु पनि कोरिया गएको बताउने उनि आफु पनि कोरिया जाने प्रयासमा रहेको सुनाए । उनि दुई वर्ष देखि कोरिया जानको लागि प्रयास गरि रहेका छन् । उनि भन्छन् ′नेपालमा जागिर पाइदैन, पाए पनि दश बाह्र हजारको मिल्छ । उनि थप्छन् त्यसले के पुग्छ र ? ′
पछिल्लो समय कोरिया जाने सीमित कोटाका लागि भाषा परीक्षा दिनेहरू बर्सेनि बढिरहेका छन् । प्रतिस्पर्धा गरेरै पनि कमाउन कोरिया पुग्ने चाहना नेपालीको ‘पहिलो सपना’ बन्दै गएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६