काठमाडौं : सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्जको मृत्यु भएको छ। लालबन्दीमा भएको भिडन्तमा जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।
नेपाल प्रहरीको गस्ती टोलीमाथि लालबन्दी नगरपालिका १ लखनदेही नदी नजिकै करिब २ बजेको समयमा पाँचजनाको समूहमा रहेका विप्लवका कार्यकर्ताहरुले गोली चलाएका थिए।
गोली चलाउने अन्य व्यक्तिहरु फरार भएको प्रहरीको भनाइ छ। घटनास्थलमा प्रहरीले सिक्सर पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र दुईवटा मोटरसाइकल फेला पारेको छ। फरार भएकाको खोजी कार्य भइरहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६