काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले फागुन १२ गते निकै तामझामका साथ सडक धूलोमुक्त बनाउन भनेर ब्रुमरको सुभारम्भ गरे ।
काठमाडौंको धुलोमाटोले आजित सर्वसाधारणहरु ब्रुमर ल्याइएपछि स्वच्छ हावा लिन पाइने भो भनेर खुखि भएका थिए । तर त्यो खुसि फेरि निराशामा परिणत भएको उनिहरुको प्रतिक्रियाबाट प्रष्ट हुन्छ ।
काठमाडौंको सडक धूलोमुक्त बनाउन इटालीबाट खरिद गरिएका नयाँ प्रविधिको ५ वटा ब्रुमर प्रभावहिन बनेका छन् । ११ करोड रुपैयाँ लगानी गरेर ल्याइएका ब्रुमरले सोचे अनुरुपको काम गर्न नसकेपछि तिनीहरु प्रभावहिन देखिएका हुन् ।
महानगरले धुलोमाटो हटाउन ब्रुमर ल्याएपनि आफुहरुलाई पहिलेको जस्तै नै सास्ती भएको सडकपेटीमा हिड्ने सर्वसाधारणहरु बताउँछन् । उनिहरु महानगरले सञ्चालन गरेको ब्रमुरले राम्रो काम गर्न नसकेको आरोप लगाउँछन् ।
काठमाडौंका प्रविन सिटौला भन्छन् – ′महानगरपालिकाले नो माक्सको अवधारणाले सञ्चालनमा ल्याएका ब्रुमरहरुले त्यति राम्रो काम गर्न सकेको मैले देखेको छैन,पहिला सडकमा हिड्ने हरेक मान्छेहरुले माक्स लगाएको देखिन्थे खै त्यो परिपाटी अहिले सम्म छ ।′ के काम गर्न सक्यो होला र ब्रुमरले भनेर उल्टै प्रश्न गर्छन् ।
यस्तै रत्नपार्कमा भेटिएका रमेश धिताल काठमाडौंको धुलोमाटोले दिक्क भएको सुनाउँदै भन्छन्– ′अन्य भन्दा पनि मुख्य ठाँउ अथवा बढि मानिसहरु हिड्ने ठाउँमा सफा हुनु पर्ने हो उनि रत्नपार्क बसपार्कको धुलो देखाउँदै भन्छन् यति मान्छे हिड्ने ठाउँमा त सफा गरिएको छैन भने अरु ठाउँको हालत के होला ?′
तर काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने यो कुरा स्विकार्दैनन् । ब्रुमर ल्याइसकेपछि काठमाडौंको ६० प्रतिशत धुलो हटेको उनि दावी गर्छन् । विभिन्न रुटहरुमा पाँच वटा ब्रुमरले राती ८ बजे देखि बिहान ४ बजे सम्म काम गर्दै आएको बताउँदै डंगोलले ब्रुमरले सडक सफा गर्ने काम चलिरहेको र सोचे अनुरुपको काम पनि गरि रहेको बताए ।
अहिले महानगरका विभिन्न ५ वटा रुटहरुमा ब्रुमरले राम्रै काम गरिरहेका बताउँदै डंगोलले चीन सरकारले अहिले २ वटा ब्रुमर अनुदान दिएको र महानगर पनि फेरी २ वटा ब्रुमर थप्ने सोचमा रहेकोले त्यसले पनि धुलो हटाउन सघाउ पुग्ने बताए ।
धुलाम्य काठमाडौंलाई ब्रुमरको साहयताले धेरै परिवर्तन गर्न सकेको बताउँदै उनले १ वर्ष भित्र नो माक्स सिटी बनाउने बताए । खानेपानी आयोजनाले पाइप बिछ्याउनका लागि भत्काएका सडकहरु र खाल्डाखुल्डीले पनि ब्रुमर लगाउन समस्या भएको महानगरले जनाएको छ ।
महानगरपालिकालाई ‘ग्रीन, क्लीन र नो माक्स’ क्षेत्र बनाउन अत्याधुनिक ब्रुमरको प्रयोगले पनि धेरै सहयोग मिल्ने महानगरको भनाई छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०७६