जेनेमा आयोजित पत्रकार सम्मेलनमा युएनएचसिआरका प्रवक्ता बाबर बालोखले हिंसाका कारण करिब तीन लाख मानिस विस्थापित भएको जानकारी दिए । उनले तत्कालै कुनै कदम नचालिए यो हिंसा अझ ठूलो क्षेत्रमा फैलन सक्ने चेतावनी दिए ।
इटुरीका गभर्नर जाँ बामानिसा सैदीले हिंसाबाट विस्थापितको संख्या चार लाखको हाराहारीमा पुगिसकेको बताए। उनले विस्थापितको सुरक्षा र हिंसा रोक्ने कार्य निकै जटिल बनेको बताउनुभयो । गत साता स्थानीय अधिकारीहरुले इटुरीमा एक दुई दिनकै अन्तरालमा ५० जनाभन्दा बढीको हत्या भएको बताएका थिए ।
अरु स्रोतले हिंसाका कारण ७० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । दुई जातीय समुदायबीच हिंसा भड्किनुको खास कारण अझै स्पष्ट हुन सकेको छैन । तर सन् १९९९ देखि २००३ को बीचमा यिनै दुई समुदाय हेमा र लेन्डुबीचको हिंसाका कारण दशौं हजारको ज्यान गएको थियो । सन् २०१७ र २०१८ मा यी दुई जातिबीचको द्वन्द्वका कारण करिब ३ लाख ५० हजार विस्थापित भएका थिए ।