इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ ।
इजिप्टका सञ्चार माध्यमका अनुसार अदालतमा बयानका उपस्थित भएपछि मोहम्मद मोर्सी बेहोस् भएका थिए । मोर्सी इजिप्टका प्रथम निर्वाचित राष्ट्रपति थिए ।
६७ वर्षीय मोर्सी उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए । परिवारका सदस्य तथा अधिकारवादीहरुले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका थिए । गत अक्टुबरमा उनका कान्छा छोरा अब्दुल्लाले एक टेलिभिजन अन्तरवार्तामा उपचार नगरी बुवालाई अलग राखिएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए। उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो।
सन् २०११ को अरब आन्दोलनपछि मोर्सीले इजिप्टमा रहेको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाएका थिए । तर ४ वर्षे शासन पूरा गर्न नपाउँदै मोर्सीले सेनाको कूका कारण सन् २०१३ मै सत्ताच्यूत हुनु परेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६