सादा पोसाकमा रहेका तीन भारतीयसहित चार जना अछाम जिल्ला पुगेका छन्। एक किशोरीको खोजीमा भारतीय प्रहरीका टोली अछाम पुगेका हुन् ।
अछामका एक युवाले भारतीय किशोरीसँग भागी विवाह गरी घर ल्याएपछि उनको खोजीमा प्रहरी आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाम दर्नाका केशव टमटाले भारतको छतिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाकी एक किशोरीसँग बिहे गरेका थिए । अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका १९ वर्षीय टमटाले १६ वर्षीया काजोल राठोरलाई भगाएर दुई महिनाअघि अछाम ल्याएका थिए ।
भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा सादा पोसाकमा रहेका तीन जना प्रहरीसहित चार जनाको टोली ती किशोरीलाई लिन अछाम आएकाे बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकेन्द्रबहादुर साउदले जानकारी दिए ।
भारतीय प्रहरीले टमटाको घर पुगेर दुवै जनालाई लैजान खोजेपछि स्थानीय प्रहरी र वडाध्यक्षको पहलमा मुद्दा न्यायिक समितिमा पुगेको उपाध्यक्ष साउदले बताए ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६